गोकुलेश्वरवासीले फोहोर व्यवस्थापनको माग राख्दै नगरपालिकालाई ध्यानाकर्षण गराए,एक हप्तामै व्यवस्थापन हुने
गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारका स्थानीय तथा व्यापारीहरुले तत्काल फोहोर व्यवस्थापन गर्नुपर्नेे माग राख्दै नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।
जिल्लाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट संकलित फोहोर मैलाको नगरपालिकाले लामो समयदेखि गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन नगरेको भन्दै मंगलबार आफैले फोहोर संकलन गरेर नगरपालिकाको परिसरमा फालेका गोकुलेश्वरवासीले बुधबार नगरपालिकाले तत्काल फोहोर व्यवस्थापन गर्नुपर्नेे माग राख्दै ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय तथा व्यापारी शंकर साउँद नेतृत्वको टोलीले नगरपालिकाकाले तत्काल गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्नुपर्ने माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । टोलीमा गोकुलेश्वरका स्थानीय, व्यापारी लगायतको सहभागिता रहेको थियो ।
टोलीले नगरपालिकासंग फोहोर व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै चाँडो भन्दा चाँडो नगरपालिकाले फोहोर व्यवस्थापनमा चाँसो दिनुपर्ने माग राखेका छन् । नयाँ आर्थिक वर्षको बजेटमा समेत फोहोर मैला व्यवस्थापनलाई प्राथमिकता राख्नु पर्ने माग राखेका छन् ।
यस्तै नगरपालिकाले फोहोर बोक्नको लागि साना साना गाडी,हरेक पशल अगाडी एक -एक डस्टविन, आगलागि नियन्त्रण गर्नको लागि दमकल,बजारको अस्पताल सम्म एम्बुलेस जान सक्ने बाटो बनाउनु पर्ने माग समेत राखेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्र्दै तथा फोहोर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले नगरपालिका फोहोर व्यवस्थापनको विषय गम्भिरताका साथ लिएको बताए ।
‘फोहोर व्यवस्थापन गर्न गोकुलेश्वरवासीको सहयोगको आवस्यक आवस्यक छ ।’उनले भने,‘नगरपालिका फोहोर व्यवस्थापनमा लागिपरेको छ ।गोकुलेश्वरवासीको साथ सहयोग चाहिन्छ । हामी एक हप्ता भित्रमा नै गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गछौं । अहिले डम्पिङग साइडको लागि १,२ ठाउँमा हेरेका छौं । १ हप्तामा नै बजारको फोहोर व्यवस्थापन हुन्छ । एक पशल एक डस्टविन राख्छौं । दैनिक नगरपालिकाका कर्मचारी आएर फोहोर उठाउँछन् । फोहोर बोक्नको लागि २,३ वटा सानो गाडी खरिद गछौं ।बजारको अस्पताल सम्म एम्बुलेस जान सक्ने बाटो बनाउनु लागि १,२ दिन भित्रै बाटोको छेउछाउमा रहेका संरचना हटाउन सुचना निकाल्छौं,अनि नापी कार्यालय दार्चुलाबाट अमिन मगाएर नक्सा अनुसार बाटो खालि गर्न आग्रह गछौं । सुचनाको पालना नगरि अवैध संरचना नहटाएमा नगरपालिकाले डोजर लगाएर बाटो खालि गरि दम्कल,एम्बुलेन्स जान सक्ने बाटो बनाउछौं । ’
यस्तै विपद तथा फोहोर व्यवस्थापन शाखा प्रमुख राजेशसिंह बिष्टले फोहोर व्यवस्थापनको विषयलाई गम्भिरताका साथ लिइ आफै खटेर समेत फोहोर व्यवस्थापन गरिरहेको बताए ।
‘नगरपालिकाको स्रोत साधन अनुसार फोहोर व्यवस्थापन गरिका छौं ।’उनले भने,‘ म आफैले कयौं दिन बजारको फोहोर उठाएर व्यवस्थापन गरेको छु । डम्पिङ साइडको अभाव भएकाले केहि दिन बजारको फोहोर नउठेको हो ।अब एक हप्तामा डम्पिङ साइडको छनोट गरि बजारको फोहोर दैनिक रुपमा उठ्ने छ । २ दिन भित्रमा हरेक पशलमा डस्टविन राख्छौं । फोहोर व्यवस्थापनलाई गम्भिरताका साथ लिइ काम गरिरहेको छु । हाम्रो गोकुलेश्वर,स्वच्छ गोकुलेश्वर,राम्रो गोकुलेश्वर बनाउनमा रातदिन लागिरहेको छु ।’
यसैगरी नगरपालिकाक नगरउपप्रमुख शान्ति खडायत एक हप्ता भित्रमा नै नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने बताउँछिन्।
‘व्यवस्थापन गर्न गोकुलेश्वरवासीको साथ सहयोग आवस्यक छ ।’उनले भनिन्,‘ हामी एक हप्ताभित्रमा नै गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्ने छौं । नगरपालिका गम्भिर भएर लागिरहेको छ । व्यवस्थापनमा गोकुलेश्वरवासीको साथ सहयोगको आवस्यक छ ।’



