गोकुलेश्वर। निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ।
यससँगै काठमाडौं–धनगढीको ६ हजार ६२५ रूपैयाँ, काठमाडौं–नेपालगञ्जको भाडादर चार हजार ८९० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७६५ रूपैयाँ, काठमाडौं–सिमराको एक हजार ३५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर एक हजार ६६५ रूपैयाँ तोकिएको छ।

काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ। नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ तोकिएको छ।
त्यस्तै नयाँ भाडादर काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ रहेको छ।
त्यसैगरी, काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ।



