No.1 News Portal from Sudurpashchim Province
bajaj

समाजवादी प्रेस संगठनले भन्यो– शुद्धिकरणका नाममा पूर्वाग्रही गतिविधि रोकियोस्

गोकुलेश्वर। समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघले चलाएको सदस्य शुद्धिकरण अभियान पूर्वाग्रह प्रेरित भएकोमा आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष विश्वमणि सुवेदीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शुद्धिकरणको विषय र उद्देश्य सकारात्मक हुँदाहुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको छ । बिना आधार र तर्क सदस्यको सूचीबाट ‘शुद्धिकरणमा पारिएको’ सन्दर्भमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

शुद्धिकरणका क्रममा महासंघका विभिन्न जिल्ला शाखाले आफूखुशी मापदण्ड तय गर्ने, फरक संगठन वा समूहमा आवद्ध भएकै नाममा ‘शुद्धिकरण गरियो’ भन्नेजस्ता मनोमानीपूर्ण काम भएकोमा उक्त संगठनले आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय पत्रकारहरु राजनीतिक दल वा अन्य संस्थाको सदस्य भए पनि कार्यकारी भूमिकामा नरहँदा ‘शुद्धिकरण’ नगर्ने पूर्वसहमति उल्लंघन भइरहेका छन् ।’

pm office

उक्त संगठनका महासचिव रामकुमार एलन,संस्थापक चमिना भट्टराईसहित थुप्रै पत्रकार पूर्वाग्रही मापदण्डको शिकार भएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सदस्यता आवेदन गर्ने सो संगठनका केन्द्रीय सदस्य एवं माउण्टेन टेलिभिजनका बाँके संवाददाता कुशल दलामीसहितका पत्रकारहरु समाजवादी प्रेस संगठनमा आवद्ध भएकै नाममा महासंघको सदस्य हुनबाट बञ्चित हुने स्थितिको संगठनले विरोध गरेको छ ।

उक्त संगठन शुद्धिकरण पक्षधर हुँदाहुँदै पनि पूर्वाग्रही भूमिका र मापदण्डको शिकार भई सदस्यता सूचीबाट नाम हटाइएकोप्रति घोर आपत्ति जनाउँदै ‘शुद्धिकरण’ को विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासंघ नेतृत्वसमक्ष हामी जोडदार माग गरेको छ ।

साथै, शुद्धिकरणसम्बन्धी मापदण्डको एकरुपता कायम गरी देशभरि एउटै मापदण्ड सहित यस अभियानलाई अगाडि बढाउन पनि माग गरिएको छ । संगठनले यस विषयका सम्पूर्ण पीडितहरुलाई समयभित्रै महासंघको प्रदेश र केन्द्रमा उजुरी गर्न पनि आग्रह गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.