No.1 News Portal from Sudurpashchim Province
bajaj

गर्मी लगातार बढ्दै कतिपय ठाउँमा रेकर्ड ब्रेक

गोकुलेश्वर। पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा आज शनिबार पनि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ।

केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर लु जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।

नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने तापक्रम ह्वात्तै बढेको छ। यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ।

अहिले ती क्षेत्रका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ। यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ।

तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो ।

pm office

त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो। मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेषण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन्।

यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो। मनसुन १३ जुनमा प्रवेश गर्ने औसत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ।

मनसुन अहिले भारतको केरला आइपुगेको छ। यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो। अर्का मौसमविद् विनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन्।

विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।

पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना देखिएको मौसमविद्ले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.