गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार(आज) ल्याउने भएको छ ।
बुधबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । प्रदेश प्रमुख जोशीले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।
असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर बजेट ल्याउन हप्ता दिन मात्र बाँकी रहेका बेला सरकारले नीति तथा कार्यक्रम ल्याइरहेको हो ।
