गोकुलेश्वर।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले योजना बाडेर पार्टीका सदस्य थप्ने कार्य ठिक नभएको बताएका छन् ।
योजना छनोट प्राथमिकताबारे छलफल तथा कार्यशाला गोष्ठी गर्न गृह जिल्ला बाजुरा पुगेका मन्त्री शाहीले (आज) शनिबार बाजुराको कोल्टीमा आयोजना गरेको शिक्षा क्षेत्र सुधारका लागि सुझाव संकलन कार्यक्रमको समापनमा बोल्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।
उनले विगतमा पार्टीका मान्छे विद्यालयको व्यवस्थापन समितिमा छैनन् भनेर भुक्तानि नदिने सम्मका कार्य भएको समेत बताए । शिक्षा क्षेत्र सुधारका लागि पार्टीगत कार्य गर्न नहुने भन्दै यस्ता गलत कार्यको तत्काल अन्त्य गर्नु पर्ने बताएका छन् ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरुले शिक्षा क्षेत्र सुधारका लागि उठाएका माग ठिक भए पनि विगतमा पार्टीको मान्छे विद्यालय व्यवस्थापन समितिमा छैन भनेर योजना नहाल्ने र भुक्तानी समेत रोक्का गर्ने कार्य गलत भएको बताएका छन् ।

मन्त्री शाहीले पार्टीबाट आएका योजनाका निवेदन भन्दा पनि प्रक्रियाबाट आएका योजनाका निवेदनलाई प्राथमिता दिने बताए । ‘अबका दिनमा यस्ता गलत कार्य स्थानिय तह र प्रदेशबाट नहुनेमा म विश्वस्त छु ।’उनले भने ,‘शिक्षा क्षेत्रमा राजनितिकण गर्नु राम्रो होइन ।’
यसैगरी मन्त्री शाहीले आर्थिक वर्ष २०८०/८१ को प्रदेश स्तरीय योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीमा पालिकाका जनप्रतिनिधि संगको अन्तरक्रियामा बोल्दै अब प्रदेशका योजनाहरु जनाताको आवश्यकताका आधारमा छनोट हुने दाबी गरेका छन् ।
‘संघिय,प्रदेश र स्थानीय सरकारको संरचनाले जनताको सहभागिता बढी भन्दा बढी होस ।जनताले साँच्चिकै सरकारको अनुभुति गर्न पाउन ।’मन्त्री शाहीले भने,‘सरकार दैलोमा पुगोस र जनताको काम सहज रुपमा गरोस भनेर जनताको आवश्यकतामा योजना छनोट गछौं ।’
आर्थिक वर्ष २०८०/८१ मा दुर्गम तथा पिछडिएको जिल्ला भनेर चिनिने बाजुराको मुहार फेर्नलाई व्यक्तिगत योजना नभएर समग्र बाजुराको मुहार फेर्ने गरि योजना ल्याउने मन्त्री शाहीले दाबी गरे ।
शिक्षा युवा तथा खेलकुद शाखा बुढीनन्दाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र नं (क) का चार वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थित रहेको थियो ।



