गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित गाँगाबगरबाट केही मिनेट तल झर्दा नाम्पा खोला भेटिन्छ। त्यो खोला पार गरेपछि लाग्छ ठाडो डाँडा । भोलम डाँडा । त्यहीँ डाँडामा हिजोको त्रासदीपूर्ण हिमपहिरोमा ज्यान गुमाएका तीन जनाको शव भेटिएको छ । अक्करे भिरमा अड्किएका ती शवहरु झिकेर आफन्तको जिम्मा लगाइदैछ ।
अहिले पनि लगातार हिमपात भइरहेको छ। कठ्याङ्ग्रिदो चिसो छ। त्यहीँबीच आज सशस्त्र प्रहरी र नेपाल प्रहरीले ‘रेस्क्यू अप्रेसन’ चलायो । हिमपहिरोमा बेपत्ता पाँचमध्ये तीन जनाको शव भिरमा भेटियो। अफ्ठ्यारो अक्करमा अड्किएका शव सुरक्षाकर्मीले तल झारेर छाङरुमा ल्याएका छन् । मृतक मध्ये अधिकांसका परिवारका सदस्य त्यहीँ छन् ।
उनीहरुलाई शव हस्तान्तरणको प्रक्रिया चलिरहेको सशस्त्र प्रहरीको ५० नं. गुल्मका एक सुरक्षाकर्मीले बताए । डाँडा तल सानो ओढारमा हिमपहिरोबाट जोगिएका केही मानिस आज दिनभर आगो तापेर बसेका थिए । उनीहरु बेपत्ताका आफन्त थिए।
घटनापछि विक्षिप्त उनीहरु बोल्नै नसक्ने अवस्थामा छन् । त्यहीँबीचमा छन्, डोटीको जोरायल गाउँपालिका–२ बुडरका फुर्बा थापा पनि । उनी आमा नक्नी डोल्माको शव बुझ्ने पखाईमा छन् । मंगलबार दिउँसो हिमपहिरोमा परेर बेपत्ता डोल्माको बुधबार शव भेटिएको छ ।
फुर्बा केहीदिन अघि मात्रै आमासँग यार्सा टिप्न त्यहाँ पुगेका थिए । ‘आमा र अरु ५ जना त्रिपालमुनि बसिरहेका थिए, अरु खाना पकाउनका लागि दाउरा लिन गएका बेला माथिबाट ठूलो पहिरो खस्यो,’ फुर्वाको साथमा रहेका सनम थापाले भने, ‘पहिरोले त्रिपालभित्रका सबै च्यापिए, बाहिर रहेका अरु सबै बाचे ।’

हिजो फुर्बालगायतको समूह भोलममै रहेको ओढारमा बसेको थियो । सँगै यार्सा टिप्न गएका फुर्बा आमाको पहिरोमा च्यापिएर मृत्यु भएपछि विक्षिप्त छन् । वर्षेनी यार्सा टिप्न जाने उनीहरु यसबाट घरखर्च चलाउथे । फुर्बाको घरमा छोरी छन् ।
दार्चुलाको दुहुँ गाउँपालिका–४ धारीका १८ वर्षीय प्रविण कुँवरले यसवर्ष एसइइ परीक्षा दिएका थिए। परीक्षा पछि फुर्सदिला बनेका उनी आमा कमलासँग यार्सा टिप्न गए ।
आर्थिक अवस्था कमजोर भएका उनीहरु यार्साबाट घरखर्च चलाउने गर्थे। आमा, छोरा दुवै जनाले हिमपहिरोमा ज्यान गुमाए। प्रविणका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन् ।
‘हिमपहिरोको घटनाले गाउँ शोकमा डुबेको छ,’ दुहुँ गाउँपालिका–४ का अध्यक्ष कृष्णसिंह लोथ्यालले भने, ‘आमा छोराले नै घटनामा ज्यान गुमाए ।’ बेपत्ता पाँच जनामध्ये तीन जनाको शव घटनास्थलबाट अढाइ किलोमिटर तल भिरमा भेटिएको हो ।
बेपत्ता डोटीको जोरायल गाउँपालिका–२ बुडरका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था भने अझै अज्ञात छ। सुरक्षाकर्मीले भेटिएका तीन शव सनाखत गरेर परिवारको जिम्मा लगाउँदैछ ।
छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरी ५० नं.गुल्मका डीएसपी इश्वरदत्त भट्टको नेतृत्वमा सशस्त्रको २१ जनाको टोली र सीतापुल प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश बहादुुर सिंह नेतृत्वको ५ जनाको टोली उद्धारमा खटिएको थियो । बेपत्ता दुई जनालाई खोज्न भोलि फेरि रेक्स्यु अप्रेसन चलाउने सशस्त्र प्रहरीले जनाएको छ ।



