गोकुलेश्वर। दार्चुलामा शुक्रवार ३१ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमितमध्ये ३१ जना कोरोना संक्रमणमुक्त भएका हुन् । विहीवार ६ जना संक्रमणमुक्त हुदा शुक्रवार (आज) ३१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु भएयता अहिलेसम्म ५ सय २७ जनाले कोरोना जितेका छन् । यसैबीच शुक्रवार दार्चुलामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा संक्रमण देखिएको सिआईसिटी सहजकर्ता बोहराले बताए ।
उनका अनुसार एन्टिजेन परीक्षण गर्दा महाकाली नगरपालिकाका ४ जना, मार्मा गाउँपालिकाका १ जना, मालिकार्जुन गाउँपालिकाका २ जनामा संक्रमण देखिएको हो । यस्तै जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा १ जना र खलंगा पुलघाटमा १ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । शुक्रवार ९ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ । जिल्लामा अहिले १ सय १२ जना मात्रै सकृय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाकै कारण १० जनाको मृत्यु भइसकेको छ ।



