गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ।
बेपत्ता मध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्याँस गाउँपालिकाको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा रहेका छन् ।

हिमपहिरोले मंगलबार दिउँसो यार्सा संकलक बसिरहेको टेण्टहरु पुरेको थियो। पुरिएका मध्ये ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन् ।
बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेकी छन् ।
यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर पनि बेपत्ता भएका छन् ।
उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ। बाक्लो हिउ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो । उक्त टोली आज पुनः घटनास्थलतर्फ जाने भएको छ ।
