गोकुलेश्वर। कञ्चनपुरका अग्रज पत्रकार तथा सामाजिक अभियान्ता खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइनमार्फत उजुरी दिएका हुन्।
गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए ।
‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु,’ उनले भने, ‘उजुरी दर्ता भइसकेको छ ।’
पत्रकार भण्डारी र रास्वपा अध्यक्ष लामिछाने पहिलो पटक आमनेसामने भएका होइनन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनामा यी दुईको मत पहिलो पटक बाझिएको थियो ।
पन्तको हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको र भीआइपी तथा भीभीआइपीहरुको हात हुनसक्ने भन्दै भण्डारीले मिडिया कभरेजसँगै न्याय प्राप्तिको आन्दोलनको अगुवाई गरेका थिए ।

त्यतिबेला न्यूज २४ मा कार्यरत लामिछानेले भने प्रहरीको पक्षपोषण हुने गरी एकतर्फी ढंगले रिर्पोट र अन्र्तवार्ता प्रशारण गरेको आरोप लागेको थियो ।
भण्डारीलाई स्टुडियोमा बोलाएर उनको जानकारी बिनै डिएसपी अंगुर जिसीलाई खडा गरिएपछि लामिछानेको नियतमाथि भण्डारीले प्रश्न गरेका थिए ।
लामिछानेले पत्रकारिता छाडेर राजनीतिमा प्रवेशको घोषणा गरेपछि भण्डारीले ‘उनी जहाँबाट चुनाव लड्छन आफूपनि त्यहीँ क्षेत्रबाट उम्मेदवारी दिने’ बताएका थिए । यद्धपी उनले प्राविधिक कारणले चुनावमा खडा हुन नसकेको प्रष्टिकरण दिदै आएका छन् ।
नागरिकता प्रकरणमा सांसद र गृहमन्त्रीको पद गुमेपछि लामिछाने चितवन–२ बाट पुनः उम्मेदवार भएका छन्।
सत्ताबाट बाहिरिदै गर्दा उनले ‘१२ भाई मिडिया’ भन्दै मुलधारका सञ्चारमाध्यमको चर्को आलोचना गरेका थिए । विभिन्न बिवादीत निर्णयको घेराबन्दीमा फसेका लामिछानेलाई चुनावमा पहिलाझै सहज परिस्थिति छैन ।
गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषय लगायतले उनलाई चुनौती थपिएको छ । यसै विषयमा पत्रकार भण्डारीले अनलाईन मार्फत आज उजुरी दर्ता गरेका छन् ।



