गोकुलेश्वर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गिकरण गरेको छ।
आइतबार नगरपालिकाले एक कार्यक्रम गरि भू–उपयोग निमावली अनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको हो ।
नगर प्रमुख रणबहादुर महरा र प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले संयुक्त रुपमा भू–उपयोग क्षेत्रको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख महराले नगरपालिकाभित्रको जग्गा संरक्षण गर्न र खण्डिकरण हुन नदिन जग्गालाई आवासीय र कृषि क्षेत्रलगायत दश वटा क्षेत्रमा वर्गीकरण गरिएको बताए ।
उनका अनुसार कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यकता अनुसार अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरिएको छ ।

आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्र बाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रुपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने भू–उपयोग नियमावलीले व्यवस्था गरेको छ ।
‘भू–उपयोग नीति २०÷२५ वर्ष अगाडी बनेको भए धेरै काम हुन्थ्यो,’ उनले भने, ‘ढिलै भएपनि हामीले भू–उपयोग क्षेत्रको बर्गिकरण गरेका छौं, यसले कृषि क्षेत्रको जग्गा संरक्षण र अगामी नीति तथा योजना बनाउन सहज हुनेछ ।’
नगरापलिकाका सबै जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट भू–उपयोग क्षेत्रको बर्गिकरण गर्न सफल भइएको उनको भनाई छ। ‘यो काममा खटिने जनप्रतिनिधि, कर्मचारी, नापी र मालपोत कार्यालयका कर्मचारीहरुमा धन्यावाद व्यक्त गर्दछु,’ उनले भने, ‘जग्गाको बर्गिकरण गर्दैगर्दा केही कमिकमजोरी भएका होलान, ती सुधार गरिनेछ, जग्गा वर्गीकरण गरेसँगै लामो समयदेखि बन्द रहेको कित्ताकाट खुला भएको छ ।’
सरकारले भू–उपयोग नियमावली बनाएसँगै सबै पालिकामा जग्गाको बर्गिकरण गर्ने काम भइरहेको नापी कार्यालय कञ्चनपुरका प्रमुख पालले बताए।
उनका अनुसार कञ्चनपुरका ९ पालिका मध्ये भू–उपयोग क्षेत्रको बर्गिकरण गर्नेमा शुक्लाफाँटा दोस्रो बनेको छ । भीमदत्त नगरपालिकाले यसअघि भू–उपयोग क्षेत्रको बर्गिकरण गरेको थियो । ‘भू–उपयोग क्षेत्रको बर्गिकरण नयाँ अभ्यास हो, यसका दिर्घकालिन धेरै फाइदा छन्,’ उनले भने, ‘भू–उपयोग क्षेत्रको बर्गिकरणले स्थानीय तहलाई नीति तथा योजना बनाउन सहज हुनेछ ।
उनका अनुसार कसैले भू–उपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिकामा निवेदन दिनुपर्ने छ ।
‘स्थानीय भू–उपयोग परिषद्को बैठकमा भू–उपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेस गर्छ र प्रदेश भू–उपयोग परिषदमा पठाउँछ’, नापी प्रमुख पालले भने, ‘संघीय भू–उपयोग परिषदले औचित्य पुष्टि भएपछि कित्ता परिवर्तन गर्न स्वीकृत दिन्छ ।’



