गोकुलेश्वर।दार्चुलाको व्याँस गाँउपालिका र व्याँससंग जोडिएका राष्ट्रिय सरोकारका विषयहरुमा दार्चुलाको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई मागपत्र बुझाएको छ ।
व्याँस गाँउपालिकाका स्थानीय बासिन्दा एवम् पूर्व सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, व्याँस गाँउपालिकाका अध्यक्ष मंगल सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, व्याँस गाँउपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर लगायत दार्चुलाका जनप्रतिनिधि र स्थानीय सहभागि प्रतिनिधिमण्डलले समग्र व्याँस गाँउपालिका र राष्ट्रिय सरोकारका विषयहरुमा नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डलाई मागपत्र पेस गरेको हो ।
दार्चुला जिल्लाको त्रिदेशीय सीमाक्षेत्रका विभिन्न मागहरु तत्काल सम्बोधनका लागि नेपाल सरकारसंग जोडदार माग गर्दछौ, ज्ञापनपत्रमा भनिएको छ ।

दार्चुलाको टिंकर नाका भएर सदियौदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदैआएकोमा सन् २०२० देखि कोभिड महामारीका कारण नाका बन्द रहिआएको छ । टिंकर नाका सञ्चालन नहुँदा दार्चुला जिल्लाको व्याँस क्षेत्रका बसोवास गर्ने चार दर्जनभन्दा बढी व्यापारी व्यवसायीहरुका साथै सयौं स्थानीय वासिन्दाहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । यो वर्ष रसुवागढी, हिल्सालगायतका नाकाहरु सञ्चालनको तयारी भइरहेको जानकारी सार्वजनिक भइरहेको छ, ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ, टिंकर नाका पनि तत्काल खुलाउन तथा दार्चुलाका सीमावर्ती क्षेत्रका बासिन्दाको आवश्यकता सम्बोधन गर्न र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
टिंकर नाकाबाट पवित्र कैलाश मानसरोवर यात्रा गराउन सस्तो र कम समयमा सञ्चालन गर्न सम्भव भएकोले तत्काल टिकर नाकामा अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दछौ ।
टिंकर नाका भएर ५ देखि ७ दिनभित्रै ५०–६० हजार रुपैयाँ खर्च गरेर पवित्र कैलाश मानसरोवर यात्रा गराउन सम्भव रहेको कुरा समेत प्रधानमन्त्रीलाई स्मरण गराइएको उहाँले बताउनुभयो । हाल हिल्सा र रसुवागढी नाकाबाट कैलाश यात्रा गराउन ९र१० दिनको अवधि र २ लाख रुपैयाँको पर्यटकीय प्याकेज रहेको छ ।
टिंकर सडक निर्माणमा नेपाल सरकारको नीतिगत प्राथमिकता भए पनि पर्याप्त बजेट उपलब्ध नहुदा नेपाली सेनाले द्रुतगतिमा सडक निर्माण गर्नसक्ने अवस्था नरहेको व्याँस गाउँपालिकाले जनाएको छ ।
दार्चुलाको चीनसंग जोडिएको टिंकर नाका सञ्चालनका लागि व्याँस गाउँपालिकाले अनुरोध गरिरहेको छ । केही दिन पहिले नेपाल चाइना हिमालयन फ्रेन्डसिप सोसाइटीका उपाध्यक्ष तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, निवर्तमान प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, दार्चुलाका अन्य सरोकारवालाहरुसहितको प्रतिनिधिमण्डलले नेपालका लागि चीनका राजदूत चेन गीतसँग शिष्टाचार भेट गरेर टिंकर नाका सञ्चालनको माग गरेका थिए ।
