गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका -९ स्थित गोकुलेश्वर बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको छ ।नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)ले सोमबार क्याम्पसमा ताला लगाएको हो ।
क्याम्पस प्रशासनले नियमित तर्फ र नियमित रुपमा क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीरुलाई मताधिकारबाट बञ्चित गराउने निर्णय गरेकोले ताला लगाएको नेवि संघ गोकुलेश्वर क्याम्पस इकाई कमिटी सदस्य नरेश बिष्टले बताए ।
उनका अनुसार सो निर्णय सच्च्याए माग गरिएपनि क्याम्पस प्रशासनले नसुनेपछि बाध्य भएर तालाबन्दी गरिएको हो ।

क्याम्पसको सो निर्णयले ५० प्रतिशत विद्यार्थी मताधिकारबाट बञ्चित भएका छन्।पठनपाठनमा अवरोध नहुने गरि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको उनले बताए । निर्णय नसच्च्याए ताला नखुल्ने उनको भनाई छ ।
नियमित रुपमा प्रकिृया पुगाएर भर्ना भएका विद्यार्थीले स्ववियु निर्वाचनमा मत हाल्न पाउने गरि मतदाना नामावली प्रकाशन गरेको गोकुलेश्वर बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत धनबहादुर बिष्ले बताए ।
उनले भने,’हामीले प्रकिृया पुगाएर भर्ना भएका विद्यार्थीहरुको नामावली प्रकाशन गरेका हौं । क्याम्पस प्रशासनमा नियमित शुल्क तिर्न बाँकी रहेकाको नामावली समावेश गरेनौं।नेवि संघले क्याम्पसमा भर्ना भएका सबैको नाम मतदाता नामावलीमा समावेस गर्नु पर्ने माग राखेको छ । अब हामी सुदूरपश्चिम विश्व विद्यालयको निर्देशन अनुसार प्रकिृया अगाडी बढाउँछौं ।’
सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत्र ८ गते देशभर स्ववियु निर्वाचन हुँदै छ ।



