गोकुलेश्वर। आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
शृङ्खलाको पहिलो खेलमा पनि नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै उच्च स्कोर बनाएको थियो । आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन पनि गरिएको छ । ब्याटर ज्ञानेन्द्र मल्ल र बलिङ अलराउण्डर करण केसी प्लेइङ ११ मा छैनन् । करण र ज्ञानेन्द्र क्रमशस् १३ र १४ नम्बरमा छन् ।

उनीहरूको ठाउँमा ललित राजवंशी र गुलशन झाले खेल्ने छन् । आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ ।
यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ । सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ ।
नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ । नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।



