गोकुलेश्वर। दार्चुलासहित बैतडीमा हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । यस वर्ष फागुनको चौंथो साता हुँदासम्म वर्षा नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने छ ।
हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण खेतबारीमा लगाइएको बालीसमेत सुक्न थालेका लेकम गाउँपालिकाका किसान बताउँछन् ।लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी भएको किसानहरुको भनाई छ ।
यस वर्ष हिउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको बैतडीको दोगडाकेदार गाउँपालिका किसान बताउँछन् ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका दार्चुलाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य सङ्कट निम्तिने किसान बताउँछन् ।
हिउँदे बालीका लागि आकाशे वर्षा लामो समयसम्म नहुनु र सिँचाइको पनि सुविधा नभएको दार्चुलाको शैल्यशिखर,लेकम,मार्मा,मालिकार्जुन गाउँपालिका लगायत जिल्लाका अधिकांस क्षेत्रमा हिउँदे बाली सुक्न थालेको छ ।
यस्तै बैतडीको दोगडाकेदार, पाटन, मेलौली,सुर्नया गाउँपालिका आधा भन्दा बढी ठाउँमा समेत वर्षा नहुँदा किसानले दुख गरेर लागाएको अन्नबाली खेतमै हराएको सम्वाददाता जनकसिंह भाटले जानकारी दिए ।
सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएका छैनन् । छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेपछि ६० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।



