गोकुलेश्वर। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्यो ।
यूएईका लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३र३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले १र१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २र२ विकेट लिए ।
यस शृङ्खलामा नेपालले ४ खेल खेल्दा ३ मा जित निकाल्यो । यो जितसँगै नेपाल लिग–२ को अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । ३२ खेल खेलेको नेपालको ३२ अङ्क छ ।
लिग–२ को शीर्ष ३ मा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछन् । अब नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुने सम्भावना कायम रहन्छ । नेपालले बाँकी रहेका ४ मध्ये ३ खेल जिते शीर्ष ५ मा स्थान पक्का गर्नेछ ।



