गोकुलेश्वर। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको (स्ववियु) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।
विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार अपराह्न ३ बजेभित्र दर्ता गर्नु पर्नेछ । फागुन २१ गते मतदाताको नामावली प्रकाशन गर्नेछ ।
नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्र दाबी विरोध गर्न पाइने छ। दाबी विरोधमाथि छानबिन गरेर त्यही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने छ ।

फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ । साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ ।
साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा छ ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ । त्यही ही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ । बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।



