गोकुलेश्वर। नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राख्नुभएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राख्नुभएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको हो । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन् ।



