गोकुलेश्वर। राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट बाक्लिएको छ ।
अस्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेताहरु सहमति जुटाउन थप सक्रिय बनेका छन् ।

एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु माधव नेपाललाई वामपन्थी दलका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने अडान राखेपछि एमालेले नेपालसँग छलफल गरेको हो । राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले अझै उम्मेदवार चयन गर्न सकेको छैन ।
राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा छ । निर्वाचन आयोगले आउँदो शनिवार राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता तथा र २५ गते चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदै छ ।



