गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका–२ का जयसिंह धामीको तुइन चुडिँदा महाकालीमा बेपत्ता भएको ठाउँ मालघाटमा झोलुङे पुल निर्माण भई सञ्चालनमा आएको छ ।
वि.सं. २०७८ साल साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा धामी महाकालीमा खसेको ठाउँ मालघाटमा नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण भएको हो ।
नेपाल–भारत जोड्न महाकाली नदीमाथि निर्माण सम्पन्न भएका मालघाट र व्याँस गाउँपालिका–४ बर्तीघाट (मालघट्टे) का दुई झोलुङे पुलको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरेर सञ्चाउनमा ल्याएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
सीडीओ उपाध्यायका अनुसार नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनबाट निर्माण गरिएका पुल दुवै देशका सम्बन्धित जिल्लाका अधिकारीको समन्वयमा सञ्चालन भएका हुन् ।

मालघाट र मालघट्टेमा झोलुङे पुल सञ्चालनमा आएकाले तुइनमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हटेको स्थानीयको विश्वास छ । पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने भएका छन् ।
महाकालीमा झोलुङे पुल निर्माण भएर सञ्चालनमा आएसंगै तुइन र ट्युवको जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्दै गएको छ । महाकाली किनारका दार्चुलाबासी किनमेल तथा मेलापातका लागि पारी भारततर्फ जाने गर्दछन् ।
पुल नहुँदा ट्युव र तुइनको सहायताले ज्यानको बाजी थापेर पारी जानु पर्ने दार्चुलाबासीको बाध्यता छ । त्यस क्रममा कतिपय तुइन र ट्युबबाट खसेर महाकालीमा बेपत्ता भएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल पनि बन्दैछ ।
व्याँस गाउँपालिकाको तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा पनि झोलुङे पुलको आवश्यकता रहेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी बताउँछन् । उनले भने, ‘तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा अझै तुइनकै भर भएकाले सो क्षेत्रमा पनि झोलुङे पुल अनिवार्य छ ।’



