गोकुलेश्वर माविलाई चीन सरकारले बनाउने भयो सुदूरपश्चिमकै नमुना विद्यालय संरचना
डिपिआर तयार पार्न चीनिया प्राविधिक टोली गोकुलेश्वरमा
गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयलाई चीन सरकारले सुदूरपश्चिम प्रदेशकै नमुना विद्यालय संरचना बनाउने भएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको समन्वयमा चीन सरकारले विद्यालय भवन निर्माणको तयारी गरेको हो । निर्माण गरिने विद्यालय संरचनाको अन्तिम विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न चीनिया प्राविधिक टोली गोकुलेश्वर पुगेको छ ।
सुविधा सम्पन्न विद्यालय संरचना बनाउने गृहकार्य एक दशकअघिदेखि सुरु भएको थियो । गोकुलेश्वरमा चीनिया सहयोगमा विद्यालय संरचना निर्माण गर्न सन् २०१३ र २०१६ मा चीनिया टोलीले स्थलगत भ्रमण गरेको थियो ।
सन् २०१५ को भूकम्प र कोभिड महामारीका कारण भवन निर्माणको गृहकार्यमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्ष भित्रै संरचनाको निर्माण थालिने चीनिया प्राविधिक टोलीले जानकारी जनाएको छ ।

सुदूरपश्चिम प्रदेशभरीमै पहिलो र नमुना विद्यालय संरचना निर्माण गर्ने गृहकार्य भइरहेको चीनिया प्राविधिक टोलीका दोभाषे विद्यानन्द चौधरीले बताए । विद्यालयको भौतिक संरचना निर्माणको स्थलगत अध्ययन गर्न सात जना चीनिया प्राविधिकको टोली गोकुलेश्वर पुगेको उनले बताए ।उनले भने, ‘निर्माणस्थलको भौतिक अवस्था, माटो परीक्षणलगायतका विषयमा अध्ययन, सर्भेक्षण र छलफल गर्ने कार्यतालिका छ ।’
चीनिया प्राविधिक टोलीको नेतृत्व चाइना एभिएसन प्लानिङ एण्ड डिजाइन इन्सिच्युट गु्रपका आर्किटेक्ट सिनियर इन्जिनियर होङ युङले गरेका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका इन्जिनियर सुरेश विष्ट पनि प्राविधिक टोलीको सहजिकरण गर्न टोलीसंगै गोकुलेश्वर आएका छन् ।
विद्यालयको सुविधासम्पन्न भौतिक संरचना निर्माण हुने तयारीले स्थानीयमा उत्साह पलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तरसिंह विष्टले बताए । ‘अहिलेको सबै भौतिक संरचना हटाएर अत्याधुनिक नयाँ भौतिक संरचना निर्माणको तयारी भइरहेको छ, हामी धेरै खुशी र उत्साहित छौ ’ उनले भने ।
चीनिया सहयोगमा विद्यालय भवन, छात्रावास, ल्याव भवन, शिक्षक स्टाफको निवास भवन, खेलमैदान, खाजाघरलगायतका सबै संरचना एकीकृत रुपमा निर्माण गरिने भएको हो ।सबै संरचनाहरु चीनिया ठेकेदारमार्फत निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने विव्यस अध्यक्ष विष्टले बताए ।
विद्यालयको भौतिक संरचना निर्माणका लागि निर्माण सामग्रीको उपलब्धता, विद्युत, खानेपानी, डम्पिङ साइट, फोनसेवाको उपलब्धताबारे पनि प्राविधिक टोलीले जानकारी मागेको छ । शैल्यशिखर नगरपालिकाले विद्यालयको भौतिक संरचना निर्माणमा समन्वय र सहयोग गर्ने प्रतिवद्धता प्राविधिक टोलीसंग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रवहादुर विष्टले बताए ।
गोकुलेश्वर मावि चीन सरकारको सहयोगमा निर्माणको तयारी थालिएको सुदूरपश्चिम प्रदेशकै पहिलो र एकमात्र विद्यालय हो ।



