गोकुलेश्वर । सरकारले आज सोमबार जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिएको छ । सरकारले २०५२ सालमा नेकपा माओवादी केन्द्र ले हिंसात्मक गतिविधि सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक बिदा दिएको हो। हिंसात्मक गतिविधिका कमाण्डर समेत रहनुभएका पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएको अवसरमा पहिलो पटक जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिनुभएको छ।

विगत १५ वर्षमा माओवादी केन्द्र पटक(पटक सरकारमा पुगे पनि जनयुद्ध दिवस भनेर फागुन १ गते सार्वजनिक बिदा दिने आँट गरेको थिएन । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सत्ता साझेदार दलहरुको विरोध हुँदा हुँदै प्रधानमन्त्री दाहालको जोडमा आज सार्वजनिक बिदा दिएपछि अहिले यसको सर्वत्र आलोचना समेत भइरहेको छ ।
सत्ता घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध स्वरुप आइतबारको मन्त्रिपरिषद बैठक बहिष्कार गरेको थियो । केही दिन अघि मात्रै प्रधानमन्त्री दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने बताउनु भएको थियो । तर आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी दाहालले अर्को बिदाको भार थप्नु भएको छ । माओवादी र त्यसका अन्य घटकहरुले भने प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएका छन् ।



