गोकुलेश्वर। दार्चुलाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट संकलित फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा बजार निकै दुर्गन्धीत बनेको छ ।
बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । नगरबासीले जथाभावी फोहोर फाल्ने गरेका कारण समस्या सिर्जना भएको छ ।
शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको कुहिने र नकुहिने फोहोर खुलेआम बजार,चमेलिया पुलको बिचमा,सडक र नदी, खोलाको छेउमा जथाभावी फालिएको छ ।

घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नुपरेको गोकुलेश्वरका स्थानीयले गुनासो गरेका छन् । बजार क्षेत्रका घर, पसलबाट निस्किने फोहोर खेलेआम बजारमा फाल्ने गरेकै कारण बजारमा यात्रा गर्न समेत नसकिने अवस्था आएको छ ।
बजार र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन् । शैल्यशिखर नगरपालिका फोहरको व्यवस्थापन गर्न चुकेको स्थानीयले आरोप लगाएका छन् ।


फोहोर व्यवस्थापन गर्नका लागि नगरपालिकाले फोहर बोक्ने गाडी,कर्मचारी समेत राखेको भए पनि नगरपालिकाले फाल्ने स्थान अभाव देखाउँदै पन्छिँदै आएको छ । नगपालिकाले विभिन्न वडाका स्थानमा अहिले डम्पिङ साइडको छनोटको गरिरहेको र कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन ।
बजारमा फोहर कुहिएर दुर्गन्धित भएपनि फोहोर लिन नगरपालिकाको गाडी करिब २ महिना अगाडी एकपटक मात्र आएको यहाँका स्थानीय बताउँछन् । वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहोर व्यवस्थापनको आशा टरेको स्थानीय बताउँछन् ।
फोहर व्यवस्थापनको लागि डम्पिङ साइडको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रको खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने भएपनि गरपालिका मौन बसेको छ ।

अव्यवस्थित फोहरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै स्थानीयले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गर्ने गरेको र अब नगरपालिका छिटोभन्दा छिटो फोहर व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीयको माग रहेको छ ।
सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिँदा पानी प्रदूषित भइरहेको छ ।



