गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिकाले अबिवाहित महिला तथा एकल पुरुषलाई मार्सिक भत्ता दिने भएको छ ।गाउँपालिकाभरिका अबिवाहित महिला तथा एकल पुरुषलाई गाउँपालिकाले ५ सयका दरले मासिक भत्ता दिन परिचयपत्र वितरण गरेको छ ।
अबिवाहित महिला तथा एकल पुरुष समस्यामा पर्ने गरेका कारण भत्ता दिन परिचयपत्र वितरण गरिएको नौगाड गाउँपालिका ६ का अध्यक्ष एवंम गाउँपालिका प्रवत्ता राजेन्द्र सिंह बोहराले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाभरिका १६ जनालाई परिचयपत्र वितरण गरिएको छभने ४९ जनाले अबिवाहित महिला तथा एकल पुरुषको फारम भरेका छन् ।
गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ३५ वर्ष माथिका अबिवाहित महिला,५५ वर्षमाथिका दलित र ६० वर्षमाथिका एकल पुरुषलाई ५ सयका दरले मासिक भत्ता दिने निर्णय गरेको प्रवत्ता बोहराले बताए ।
उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको उनले बताए । गाउँपालिकाले भत्ता दिने भएपछि अबिवाहित महिला तथा एकल पुरुष खुसी भएका छन् ।
नौगाड गाउँपालिका–६ का डम्बरसिंह ठगुन्नाले भने, ‘गाउँपालिकाले मासिक पाँच सय भत्ता दिनेभएपछि साबुन, नुन, तेल,चिनी किन्न हुने छ । गाउँपालिकाले भत्ता दिने भएपछि हामी एकल पुरुषलाई पनि सहज हुने भएको छ ।’



