गोकुलेश्वर। काठमाडौंबाट दार्चुला आउने क्रममा तोकिएको गाडी भाडा भन्दा बढी असुल गरेको भन्दै आवश्यक कानूनी कारवाही तथा थप भाडा फिर्ताका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी परेको छ ।
यात्रुबाट तोकिएको गाडी भाडा भन्दा बढी भाडा मागेको र भाडा नथपे अलपत्र छोडिदिने भनि यातायात व्यवसायीको धम्की कानून विपरीत भएकोले सत्यतथ्य अनुसन्धान गरी आवश्यक कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई इमेलमार्फत अनुरोध गरिएको अधिवक्ता एबं दार्चुला (कोभिड–१९) सहयोग तथा समन्वय मञ्चका संयोजक कृष्ण महराले बताए।

काठमाडौंबाट सोमबार दार्चुला आउने क्रममा भाडावापत चार हजार रुपैया दिईसकेपछी पुनः अत्तरिया पुगेपछि भाडा थप गर्नुस्, होइन भने तपाईहरुलाई यतै अलपत्र छोडिदिन्छु भनी अत्तरियामा ९८१ नम्बरको गाडी चालक र गाडी धनीले २,३ घण्टा रोकेपछि हामीसंग प्रतियात्रु एक हजार पाँच सय थप भाडा लिएकोले काठमाडौंमा समस्या भई घर जान आएका हामीहरुलाई सार्वजनिक सवारी चालक र धनीले विपदको समयमा कानून विपरीत चर्को भाडा उठाएकोले अत्तरिया आई लिएको थप भाडा फिर्ता गर्न सहयोग गरिपाउ भनी आपतकालीन रूपमा सहयोग तथा समन्वय गर्न गठितसमन्वय मञ्चमा निवेदन परेको थियो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बढि भाडा असुलेको विषयमा छानबीन गर्न बुधबार नै जिल्ला प्रहरी कार्यालय दार्चुलालाई पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । घटनाबारे आवश्यक कारवाही प्रकिृया अघि बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।




