गोकुलेश्वर। नेकपा (एमाले) बाट नवनिर्वाचित बैतडीका संघिय सांसद दामोदर भण्डारी र प्रदेशसभा ‘क’ बाट नवनिर्वाचित सुदूरपश्चिम सांसद सुरेन्द्र पालले विद्युत विस्तारको माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर उनीहरुले जिल्लाका विद्युत विस्तार नभएका पालिकाहरुमा विद्युत विस्तार गर्न र विद्युत विस्तार भएका ठाउँहरुको स्तरोउन्नती गर्न मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराएका छन् ।
बैतडीका सबै पालिकामा विद्युत विस्तारको माग गर्दै कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएको सुदूरपश्चिम प्रदेशसभा सदस्य सुरेन्द्र पालले बताए ।

‘जिल्लाका अधिकांस गाउँमा विद्युत सेवा छैन्,’ उनले भने, ‘केही ठाउँमा ठेकेदारले काम गरेको छैन्, विद्युत विस्तारका योजनाहरु अलपत्र छन्, जिल्लाका सबै पालिकाहरुमा विद्युत विस्तार भएको छैन्,विद्युत कार्यालयमा आवश्यक जनशक्ति छैन्, यिनै समस्या राखेका छौं ।’
यसैगरी तत्काल (यसै वर्ष) विद्युत विस्तार नभएका सिगास गाउँपालिका,पुर्चौडी नगरपालिका,डिलाशैनी गाउँपालिकाको धामीगाउँ,मठैराज लगायत अन्य ठाउँहरुमा विद्युत विस्तार गर्न समेत माग गरेको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चाँडै नै बैतडीका सबै पालिकाहरुमा विद्युत विस्तार हुने आस्वासन दिएको प्रदेशसभा सदस्य पालले बताए ।




