मेलौली अस्पताल निर्माणका बिषयमा विवाद, सम्वादबाटै समस्याको समाधान खोज्नुपर्ने नगर प्रमुख चन्दको आग्रह
गोकुलेश्वरः बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा दुई पक्षबीच झडप भएपछि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न आग्रह गरिएको छ । मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दले एक विज्ञप्ती जारी गर्दै समस्याको समाधानका लागि वार्ता र सम्वादबाटै अघि बढ्न आग्रह गरेका छन।
नेपाल नगरपालिका संघको अधिवेशनका लागि नगर प्रमुख र उपप्रमुख काठमाण्डौंमा रहेका बेला दुई पक्षबीच भएको झडप प्रति उहाँहरुले दुःख व्यक्त गरेको बताउनुभयो । यस्तो परिस्थितीमा धैर्यता का साथ वार्ता र सम्वादबाट सहमति खोज्न सबै पक्षलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मेलौली नगरपालिकामा आधारभूत अस्पताल निर्माणका बिषयमा वडा नं १ र वडा नं ७ का स्थानीयबीच विवाद हुदै आएको छ । वडा नं ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा अस्पताल निर्माण हुनुपर्नेमा जोड दिएका छन् भने वडा नं १ का बासिन्दाले बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने बताउँदै आएका छन् । अस्पतालका बिषयमा दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।
गएको मंगलबार वडा नं ७ का स्थानीयहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए । बुधबार तालाबन्दी विरुद्ध वडा नं १ का बासिन्दाले प्रर्दशन गरेका हुन । बिहीबार नगरपालिकामा गरिएको तालाबन्दी खोलेपछि दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका छन् ।
वडा नं १ का १० जना घाइते भएका छन् भने वडा नं ७ का २५जना घाइते भएका छन् । मेलौलीमा झडपको स्थिती सिर्जना भएपछि प्रहरी टोली खटिएको छ ।



