चीनमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन मन्त्रालयको आग्रह
'कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन' : स्वास्थ्य मन्त्रालय
गोकुलेश्वर। सरकारले विश्वका विभिन्न देशसहित छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकोले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार आज विज्ञप्ति निकालेर विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ । छिमेकी देश चीनमा फैलिएको र विश्वको अन्य देशमा पनि देखिएको बीएफ–७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन् ।




