गोकुलेश्वर. कैलालीमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ। मंसिर २४ मा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो।

बोहराको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बर्दगोरिया गाउँपालिकाको मुडामा घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए।
डीएसपी जोशीकाअनुसार २४ गते भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिट हुँदा गम्भीर घाइते भएका बोहराको हिजो उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।
घटनाको जिम्मा लिएका सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–४ का २९ वर्षीय सुरेन्द्र डगौरा थारु र ३२ वर्षीय श्रवण चौधरी रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



