गोकुलेश्वर। बैतडी प्रदेशसभा क्षेत्र ‘क’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाल मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन् ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भएका पाल समयतालिका बनाएरै मतदाताको घरदैलोमा पुगेका छन् ।


एमाले बैतडी अध्यक्ष समेत रहेका पाल मतदातालाई धन्याबाद दिँदै घर–घरमा पुगेर खुसी साटिरहेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित पालले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ टोल टोल पुग्न थालेको बताए ।

उनले भने, ‘पहिले मैले मत मागे, अब उहाँहरुको समस्या के छ माग्छु, मैले जहाँ सम्म सक्छु समाधान गरेरै छोड्छु’उनी निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगिरहेका छन् ।उनले भने,’ प्रदेश ‘क’ का वडावडामा पुगेर मतदातालाई धन्याबाद दिने कार्यक्रम बनाएका छौ ।’
उनले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए ।उनले भने, ‘ मलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेको छु , म काम गर्छु ।’




