गोकुलेश्वर। दार्चुलामा प्रतिनिधि सभा र प्रदेशसभामा तर्फ लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधि सभातर्फ कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री समेत रहेका बडूले दार्चुलाबाट तेस्रो पटक पनि जीत निकलेका हुन् ।
उनले बुधबार सम्पन्न भएको मतगणना अनुसार आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई २ हजार १ सय ३४ मतले पछि पार्दै चुनाव जितेका हुन् ।
जिल्लाभरीबाट कुल खसेको ५६ हजार ६ सय ६३ मतमध्ये २८ हजार ५ सय १५ मत बडूले ल्याए भने प्रतिद्धन्द्धी ठगुन्नाले २६ हजार ३ सय ८१ मत ल्याए ।
प्रदेशमा पनि गठबन्धनकै जित
दार्चुला प्रदेशसभा–१ र २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा क्षेत्र १ मा लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका बिक्रम धामी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
धामीले १५ हजार १ सय २७ मत पाए भने प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४ सय ५१ मत मात्रै ल्याउन सके ।
यसैगरी प्रदेशसभा क्षेत्र २ मा पनि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादीका मानबहादुर धामी (सन्तोष) विजयी भएका थिए ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत धामीले १३ हजार १ सय ७१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जोशीले ११ हजार ८ सय ५६ मत मात्रै ल्याउन सके ।
धामी २०७४ सालको निर्वाचनमा पनि दार्चुला प्रदेशसभा २ बाट निर्वाचित भएका थिए ।



