गोकुलेश्वर। बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुलेको छ ।
सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो । उक्त जिपमा सवार तीन जना प्रहरीको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालगायतलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ ।
एक जना अर्का घाइतेको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको खबर आएपनि प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन् । मतपेटिका पु–याएर फर्कदै गरेको प्रहरी चढेको जिप दुर्घटनामा परेको थियो ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । जिपमा चालक सहित १३ जना सवार थिए ।



