गोकुलेश्वर।प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम सिह धामीको टोली चुनावी प्रचारप्रसारका क्रममा मालिकार्जुन गाउँपालिका हुँदै लेकम गाउँपालिका पुगेर फिर्ता भएको छ ।
मन्त्री बडू नेतृत्वको मूल प्रचारप्रसार टोलीले लेकम गाउँपालिका —५ का मैखोली लगायत विभिन्न बस्तीमा भेटघाट गरेको छ । साथै चौपातामा कोणसभाको समेत आयोजना गरिएको थियो ।
लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट साझा उम्मेदवारहरु गाउँबस्ती पुग्दा त्यहाँका जनताले विभिन्न आशा लिनुका साथै गुनासा पनि पोखेको बताएका छन् ।
मुख्यगरी अहिलेसम्म लेकमको सबै क्षेत्रमा सडक विस्तार नहुनु, भएको कच्ची सडक पनि कालोपत्रे नहुनु, विद्यमान खानेपानीका समस्या, महाकाली तटीय क्षेत्रका समस्या स्थानीयले उम्मेदवारलाई सुनाउँदै सम्बोधन हुने भए भोट दिने बताएका छन् ।

विभिन्न बस्तीका जनताका समस्या, मागलाई सुन्दै पूरा गर्ने प्रतिवद्धताका साथ गठबन्धनका उम्मेदवार जिल्ला सदरमुकाम फर्केका छन् ।
लेकम गाउँपालिका —५ चौपातामा आयोजित कोणसभामा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले जिल्लाको समग्र विकास लागि गठबन्धनले जित्नुपर्ने बताए ।
उनले लेकम क्षेत्र विकासमा धेरै पछाडी रहेको बताउँदै विकासका लागि आफूहरुलाई जिताउन जनतासँग आग्रह गरे । मन्त्री बडूले यहाँका विद्यमान खानेपानीको समस्या समाधान, संचार सेवा, शिक्षा, स्वास्थ्य, सडक निर्माण र कालोपत्रे गर्ने जस्ता काम गर्ने बताए ।
सोही कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले आफ्नो उम्मेदवारी निस्वार्थ जनताको सेवाका निम्ति भएकाले चुनाव जिते आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्चने बताए ।
उनले सम्पूर्ण समाजलाई परिवारका रुपमा मानेर अगाडी बढ्ने बताउँदै चुनावपछि जनतासँगै बसेर यहाँको गाउँठाउँको विकास र विद्यमान समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रीत हुने बताए ।
साथै उनले देवभूमि दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक एवं पर्यटकिय तीर्थस्थल बनाइ समृद्ध दार्चुला बनाउन दत्तचित्त भएर काम गर्ने बताउँदै मत दिन आग्रह गरे । निर्वाचनको मिति नजिकिएसँगै गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई जोड दिएर चुनावी प्रचारप्रसार गरिरहेका छन् ।



