गोकुलेश्वर। पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय अतिक्रमणमा रहेको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषयमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अत्यधिक बहुमतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएकोे बताए ।
बुधबार लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाले जिल्लाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरमा आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दे दाहालले यस्तो बताएका हुन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न नेकपाको निर्णय मान्न तत्कालीन प्रधानमन्त्री ओलीलाई बाध्य बनाएकोे तत्कालीन नेकपाका अध्यक्ष दाहालले बताएका हुन् ।
केही दिन पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगामा आयोजित चुनावी सभामा आफ्नो नेतृत्वमा आगामी सरकार बन्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरेका थिए ।

उक्त अभिव्यक्तितर्फ इंगित गर्दै दाहालले भने,’उहाँले नक्साको कुरा गर्नुभएछ । मलाई यहाँ व्याख्या गर्ने समय छैन नत्र सबै पोल खोलिदिन्थे । केपी ओलीले होइन नक्सा बनाएको कोही भ्रममा नपर्नुहोला । म पनि अध्यक्ष थिए । मसिहत नेकपा स्थायी कमिटीको अत्यधिक बहुमतले यो नक्सा बनाउन लगाएको हो । यो नक्सा बनाएको केही समयपछि केपी ओणलीले आत्मसमर्पण गर्या छन् ।’ नक्सा बनाउन पार्टीभत्रको अत्यधिक बहुमतले निर्णय गरेपछि केपी ओलीलाई बाध्य पारिएको हो । यो नै सत्य हो र यसलाई संसारको कुनै तागतले झुटो सावित गर्न सक्दैन ।’ उनले भने ।
नक्साले संसद्बाट वैधानिकता पाउनका लागि कांग्रेस र मधेस केन्द्रित दलहरूको भूमिका रहेको उनले बताए । नक्सा पारित गर्न भने सबै राजनीतिक दलहरूको भूमिका रहेको दाबी गरेका छन् ।
नक्सा संसद्बाट पारित भएपछि भारतसँग वार्ता गर्न भनेको तर ओलीले नमानेको दाहालको भनाइ छ । ‘भारतसँग वार्ता र संवाद गरेर समस्याको स्थायी समाधान गर्नुपर्छ भन्दा कहिल्यै हिम्मत नगर्ने,’ उनले भने ।
ओलीले सीमा विवादलाई चुनावी एजेण्डा बनाएर प्रयोग गर्नका लागि थाती राखेको दाहालको आरोप छ । ‘चुनाव आएपछि राष्ट्रवादका कुरा गर्छन् सत्तामा गएपछि लम्पसार पर्छन् केपी ओली । मैले नजिकबाट राम्रोसँग देखेको छु, बुझेको छु,’ उनले भने ।
यसैगरी दाहालले अर्को प्रसंगमा बोल्दै एमाले नेतृत्वमा संघीयता र लोकतन्त्र विरोध चुनावी गठबन्धन बनेको बताए ।
उनले भने, ‘उहाँ जुन गठबन्धनमा हुनुहुन्छ,नेपालमा फेरि सामन्ति, निरंकुशतन्त्र फर्काउनुपर्छ भन्ने, यो देशको एकता खल्बल्याउनुपर्छ भन्नेसँग उहाँको गठबन्धन छ । हलोसँग छ के के सँग छ के के ।’



