गोकुलेश्वर।नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्नाले वर्तमान सरकारमा रहेका दार्चुलाका मन्त्रीले विकासका नाममा सिन्को समेत भाच्न नसकेको आरोप लगाएका छन् ।
चुनावी अभियानमा क्रममा व्याँस क्षेत्र पुगेका ठगुन्नाले विकास विरोधीहरुले ठूलो कुरा गरेर जनता झुक्याउन थालेको बताए । ‘हाम्रो पार्टी सरकारमा भएको बेला जिल्लामा हालेको बजेटसमेत कटौती गर्नुभयो। विकास जति हामीले गरिरहेका छौँ, पटकपटक मन्त्री भएकाहरु जिल्लामा आएको बजेटसमेत कटौती गरेर जादैछन्,’ उनले भने ।
जिल्लाको विकासको लागि एमालेसँग प्रतिस्पर्धा गर्न कुनैदलले नसक्ने उनको भनाई छ। महाकाली करिडोर (दार्चुला तिंकर) सडकको लागि ०७७।०७८ मा आफु मन्त्री भएको बेला १ अर्व ३ करोड रुपैयाँ विनियोजन गरेको उनको दाबी छ ।
‘अहिलेका मन्त्री हुँदा कति बजेट आयो, दार्चुलेली जनताले सोध्नुस्। मैले हालेको भन्दा बढि बजेट हालेको भए म पनि उहाँहरुलाई समर्थन गर्छु। तर हामीले ल्याएको भन्दा कम ल्याउने, भएका योजनाका बजेट कटौती गर्नेलाई जनताले किन मतदान गर्ने?,’ ठगुन्नाले भने।

दार्चुला–तिंकर सडकको सुनसेरासम्म कालोपत्रे निर्माण प्रक्रिया अघि बढेको उनले जानकारी दिए । ‘०७० अघिसम्म दार्चुलाको गोकुलेश्वर एयरपोर्ट गौचरन थियो। विमानस्थल पुन सञ्चालनको लागि डिपिआर निर्माण गराए। मन्त्री हुने वित्तिकै बहुवर्षीय ठेक्का लगाएर निर्माण कार्य अघि बढेको छ । डेढवर्ष भित्रै विमानस्थलको निर्माण पूरा गरिन्छ,’ उनले भने ।
जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी र जिल्लाभर एक घर, एक धाराको अभियान सञ्चालन गरेको दाबी ठगुन्नाले गरे । एमाले सरकारको पालामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत हरेक विद्यालयमा भवन निर्माण, लाइब्रेरी र कम्प्युटरसहित पढाई सुरु भएको उनले बताए ।
जिल्लाभरका ११ हजार बढि जेष्ठ नागरिकले अहिले सामाजिक सुरक्षा भत्ता पाएको उल्लेख गर्दै ठगुन्नाले यो काम एमाले सरकारले लागू गरेको बताए ।
चुनाव अभियान अन्तर्गत अहिले प्रतिनिधिसभा उम्मेदवार ठगुन्ना, प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली व्याँस क्षेत्रमा छ ।
पहिलो चरणमा सबै स्थानीय तहमा पुगेपछि पुन: एमालेले स्थानीय तहअनुसार आमसभाको तयारी गरेको छ। स्थानीय तहमा हुने कार्यक्रममा राष्ट्रिय कलाकारको पनि सहभागिता गराउने उसको भनाई छ।



