No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाबाट एमालेको राष्ट्रव्यापी चुनावी अभियान,१८ गते ओली आउँने

गोकुलेश्वर। नेकपा (एमाले) को चुनावी प्रचार अभियानको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली दार्चुला आउने भएका छन्। एमालेले देशभरको चुनावी अभियानको सुरुवात यहीँबाट गर्न लागेको हो।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेको थियो। त्यसैले सांकेतिक रुपमा पनि अभियानको सुरुवात दार्चुलाबाटै गर्न लागिएको हो।

चुनावी अभियान यहिँ कात्तिक १८ गते दार्चुला सदरमुकाम खलंगामा सुरु हुने एमाले जिल्ला कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए।

बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा चुनावी अभियानको उद्घाटन हुने छ। यसअघि अध्यक्ष ओलीले ०७० सालमा दार्चुलाको गोकुलेश्वरमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए।

अहिले नेकपा एमालेले नक्सामात्र हैन्, भूमि फिर्ताको लागि एमाले सरकार आवश्यक रहेको बताउदै आएको छ।

बडालले नक्सा जारी गरेपछि परमादेशी सरकारले भारतसँग वार्तासमेत गर्न नसकेको भन्दै राष्ट्रवादी एमालेको सरकारले मात्रै भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउन पहल गर्ने दाबी गरे।

मार्मामा घरदैलो गर्दै एमालेको मूल टोली

आसन्न निर्वाचनमा होमिएको नेकपा एमालेको मूल टोली मार्मा गाउँपालिकामा घरदैलो अभियानमा जुटेको छ। मार्माका विकट बस्तीसम्म एमालेको मूल टोलीले मतदातासँग भेटघाट गरिरहेको छ।

pm office

एमालेका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली मार्मा क्षेत्रमा भेटघाटमा जुटेको हो।

मार्मा गाउँपालिकाको वडा नम्बर १ तौलिमाण्डौँ, खम्म, गुल्जर, दह, जुडे ताकु लगायतका वस्तीमा भेटघाट गरी सोमबार मार्मा गाउँपालिका–४ तपोपन पुगेको छ।

मार्मा क्षेत्रको विकासमा एमालेको योगदान महत्वपूर्ण रहेको कारण यहाँका अधिकांश बस्तीमा मतदाता भेटघाट गर्नुपरेको प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्नाले बताए।

मालिकार्जुनधामबाट सुरु भएको एमालेको मूल नेतृत्वको टोली मार्मा हुँदै नौगाड आउने छ। चुनावको मिति नजिकिएसँगै मतदाता भेटघाटका कार्यक्रम सबै स्थानीय तहमा भइरहेको छ।

यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिका वडा नम्बर ३ जायझुल हुँदै वडा नम्बर ६ मा पुगेको छ।

एमाले सुदूरपश्चिम प्रदेशसभाका समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोलीले नौगाड गाउँपालिकाको होपरी, सिप्टी लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले जानकारी दिए।

शैल्यशिखर नगरपालिका इन्चार्ज विजयसिंह धामी नेतृत्वको टोली वडा नम्बर १ तौकी, बारिल बलाँच, रतौडा क्षेत्रमा मतदाता भेटघाटमा छ।

लेकम गाउँपालिकाका सबै वडामा निर्वाचन परिचालन कमिटी गठन भइसकेको लेकम गाउँ कमिटीले जनाएको छ। लेकम गाउँपालिकामा अहिले सल्ला, गोयलाडी, कोल्डीमा मतदाता भेटघाट भएको एमाले नेता प्रमानन्द जोशीले जानकारी दिए।

मालिकार्जुन गाउँपालिका इन्चार्ज हिरासिंह धामी नेतृत्वको टोलीले सोमबार शिक्षक संगठनसँग निर्वाचन सम्बन्धी रणनीति तयार गर्न अन्तरक्रिया गरेको छ। गाउँपालिकाका सबै वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन भएको इन्चार्ज धामीले जानकारी दिए।

यस्तै महाकाली नगरपालिका वडा नम्बर ९ मा ३९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ। दत्तुमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजेन्द्र सामन्तको प्रमुख आतिथ्यमा निर्वाचन परिचालन कमिटी गठन भएको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.