नव प्रवेशीलाई काँग्रेसमा भित्र्याउँदै मन्त्री बडूले भने : ‘संविधान रक्षा र विकासका लागि गठबन्धनलाई भोट’
गोकुलेश्वर। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र १ का उम्मेदवार विक्रम सिंह धामी, प्रदेश सभा क्षेत्र (२) का उम्मेदवार मान बहादुर धामीको टोलीले घरदैलो तथा भेटघाट कार्यक्रम गरिरहेको हो ।

सोमवार प्रतिनिधिसभा सदस्य उम्मेदवार दिलेन्द्र प्रसाद बडू र प्रदेश (२) का उम्मेदवार मान बहादुर धामीले शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखरमा कार्यकर्ता भेला तथा घरदैलो गरेका छन् ।
कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले संविधानको रक्षा, मुलु्कको समृद्धि र विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
यसअघिको चुनावमा जनताले एमालेलाई झण्डै दुई तिहाइ मत दिएकोमा त्यो जनमत जोगाउन नसकि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत बारम्बार संसद विगठन गरेको बताए । मन्त्री बडूले ओलीको सनकी प्रवृति, देखावटी राष्ट्रियता र झुटा, कोरा गफकाविरुद्ध साझा मतका साथ उभिन आग्रह गरे ।
सोही कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामीले देशको समग्र विकास र समृद्धिका लागि गठबन्धनको विकल्प नरहेको बताए । वन मन्त्री धामीले प्रदेशबाट रानिशिखरमा खानेपानी र विद्यालय भवनका योजना आफूले हालेको बताए ।


यसैबीच रानिशिखरको चालइखालमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका ६० जना नेता कार्यकर्ताहरुले काँग्रेस प्रवेश गरेका छन् ।
एमालेका क्रियाशिल र प्रभावशाली नेता कार्यकर्ताले पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको प्रदेश सभा क्षेत्र नम्बर २ का निर्वाचन प्रचार प्रसार समिति संयोजक जगदीश बहादुर पालले जानकारी दिए ।
भेटघाट तथा घरदैलो कार्यक्रममा उम्मेदवारहरुसंगै नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति ललित सिंह बोहरा, नेपाली काँग्रेसका नेता जगदीश बहादुर पाल, नेकपा माओवादी केन्द्रका नेता जमन सिंह धामी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबीच प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रमसिंह धामीले आज मालिकार्जुन गाउँपालिका–२ को खुना, ठिङ र सिराड गाउँका स्थानीय संग भेटघाट तथा अन्तक्र्रिया गरेका छन् ।
भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै धामीले आफूले जीवनमा राजनीति र आध्यात्मिक काम मात्रै गर्न जानेको हुँदा आफूबाट जनतालाई कदापी धोका नहुने र जनतालाई झुट्टा आश्वासन बाडेर राजनीति नगर्ने बताए ।
साथै आफूले प्रदेश सांसद बन्ने अवसर पाए देवभूमी दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक पर्यटीकीय क्षेत्र बनाएर दार्चुलाको विकासमा समर्पित हुने बताए ।

मालिकार्जुनको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं निवर्तमान मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, नेपाली काँग्रेस मालिकार्जुन गाउँपालिका सभापति किसन सिह सामन्त, महाधिवेशन प्रतिनिधि केशर सिह भण्डारी, माओवादी केन्द्रका नेता भानसिह धामी लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।



