No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा चुनावी सरगर्मी बढेसँगै भोटर जोड घटाउमा व्यस्त

दार्चुला। जिल्लामा मंसिर ४ गते हुन गइरहेका प्रतिनिधि र प्रदेश सभा चुनावको लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार प्रचारप्रसारमा गाउँ पसेका छन् ।

एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको दार्चुलामा सत्ता गठबन्धन,नेकपा (एमाले),स्वतन्त्र लगायतका अन्य विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ ।

चुनावी तयारीलाई तीव्र पारेको सत्ता गठबन्धन ,नेकपा (एमाले),स्वतन्त्रले छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । नेकपा एमालेले आन्तरिक तथा सामूहिक बैठक, छलफल,भेला र घरदैलोलाई तीव्र पारेको नेकपा –एमाले) दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए ।

‘उम्मेदवारसँगै हामी पनि चुनावी तयारीमा जुटेका छौँ ’,उनले भने’अहिले हामीले घरदैलोलाई तीव्रता दिएका छौं ।’ उम्मेदवारले पनि आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् । गठबन्धनले पनि जिल्लाकोे सबै क्षेत्रमा चुनावी रणनीति बनाउन बैठक, भेला र घरदैलोलाई तीव्रता अभियानलाई जारी राखेको काँग्रेसका दार्चुलाका सभापति ललितसिंह बोहराले बताए ।

दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेदवार गाउँगाउँ,टोलटोल,कुनाकप्चा पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र होइन्, गाउँघरमा पनि चुनावी माहोल तात्दै गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्काे महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सदुपयोग गर्ने तयारीमा दार्चुलाका मतदाता छन् । 

pm office

अहिले बिहानदेखि बेलुकासम्म ठाउँठाउँमा सबैको मुखमा चुनावकै चर्चा हुने गरेको छ । घर, टोलदेखि चिया पसल, होटल, पिपल चौतारी,चोक, चौराहामा चुनावी चर्चा परिचर्चा छ । यसपालिको चुनावमा कुन उम्मेदवारले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, सिँचाइ, बेरोजगारीका र समृद्ध दार्चुला निमार्णका मुद्दालाई प्राथमिकताका राख्छ ? कुन उम्मेदवार बलियो छ ? कुन उम्मेदवारले बाजी मार्ने ? चुनावी जोड घटाउ भइरहेको छ ।

जिल्लामा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभामा गठबन्धनका साँझा उम्मेदवार कांग्रेसका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् । एमालेबाट पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना पुनः चुनावी मैदानमा उत्रेका छन् ।

यसैगरी एमालेले प्रदेश सभा क्षेत्र (१) र (२) का लागि क्रमशः हरदेव जोशी र रामदत्त जोशीलाई चुनावी मैदानमा पठाएको छ । रामदत्त जोशी एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । स्वतन्त्रबाट प्रदेश सभा क्षेत्र (१) मा पत्रकार शंकरसिंह धामी चुनावी मैदानमा उत्रिएका छन् ।

गठबन्धनबाट क्षेत्र (१) मा कांग्रेस नेता विक्रमसिंह धामी र क्षेत्र (२) मा माओवादीका मानबहादुर धामी (सन्तोष) उम्मेदवार भएका छन् । धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् । हालका मन्त्री र पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा रहेकाले सहजरुपमा चुनावी परिणाम आंकलन गर्न गाह्रो रहेको स्थानीय बताउँछन् ।

जिल्लामा ९ वटा स्थानीय तह छन् । अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणामअनुसार एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिका गरी ५ पालिकाको प्रमुखमा जितेको छ ।

अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिका गरी ४ वटामा माओवादी केन्द्रले जित निकालेको छ । काँग्रेसले कुनै पनि पालिका प्रमुख पद जित्न सकेको थिएन । त्यो बेला पनि माओवादी कांग्रेसबीच गठबन्धन गरिएको थियो । एमाले एक्लै भिडेको थियो ।

जिल्लाका कूल ६१ वडामध्ये ३४ वडामा एमालेले जितेको छ भने गठबन्धन काँग्रेस र माओवादी केन्द्रले कूल २७ वडा जितेको छ । स्थानीय तहको मतपरिणाम अनुसार जिल्लामा गठबन्धन भन्दा एमाले बलियो देखिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.