गोकुलेश्वर। दार्चुलामा उम्मेदवारी दर्तासँगै आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावको रन्को सुरु भएको छ।
एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको दार्चुलामा सत्ता गठबन्धन र नेकपा (एमाले) का बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेको बलियो जनाधार रहेको दार्चुलामा माओवादीको सहयोगमा संघीय क्षेत्रमा कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार भएका छन् । एमालेबाट पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना पुनः चुनावी मैदानमा उत्रेका छन् ।
एमालेले प्रदेश सभा क्षेत्र (१) र (२) का लागि क्रमशः हरदेव जोशी र रामदत्त जोशीलाई चुनावी मैदानमा पठाएको छ। रामदत्त जोशी एमालेका पूर्व जिल्ला अध्यक्ष हुन्।
गठबन्धनबाट क्षेत्र (१) मा कांग्रेस नेता विक्रमसिंह धामी र क्षेत्र (२) मा माओवादीका मानबहादुर धामी (सन्तोष) उम्मेदवार भएका छन् । धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् ।
०४८ मा भएको आम निर्वाचनमा तत्कालिन दार्चुला क्षेत्र नं. १ बाट हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू विजयी भएका थिए । क्षेत्र २ बाट राप्रपाका अकबरबहादुर सिंहले बाजि मारेका भए ।
०४८ मा चुनाव जितेका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग पराजित भए। ०५६ को चुनावमा बडूले एमाले उम्मेदवार वीरबहादुर ठगुन्नालाई हराउँदै ‘कमब्याक’ गरे ।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनयता कांग्रेसले दार्चुलामा संसदीय चुनाव जितेको छैन् । ०६४ को पहिलो संविधान सभा चुनावमा सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्दका लक्ष्मणदत्त जोशीले जित निकाल्दै माओवादी ठूलो शक्ति बन्दै उदाएको थियो ।

०६४ को पहिलो संविधान सभा निर्वाचनमा एमालेका गणेश ठगुन्ना दोस्रो र काँग्रेसका बडू तेस्रो स्थानमा झर्न पुगे। ०७० को दोस्रो संविधान सभा निर्वाचन पनि कांग्रेसले गुमायो। त्यो बेला बडूलाई पछार्दै एमालेका गणेशसिंह ठगुन्ना विजयी भए।
फेरि ०७४ सालको निर्वाचनमा एमालेका ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर कांग्रेसका विक्रमसिंह धामीलाई पाखा लगाए ।
०७४ सालको चुनावमा परिस्थिति प्रतिकूल देखेपछि बडू समानुपातिकतर्फ लागेर धामीलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनाव लडाएका थिए । ठगुन्नासँग प्रतिनिधि सभाको चुनाव लडेका धामी अहिले प्रदेश सभा क्षेत्र (१) बाट चुनाव लड्दै छन् ।
ठगुन्नाले त्योबेला २८ हजार ९ सय ९८ मत पाएका थिए भने कांग्रेसका धामी २२ हजार २३३ मतमा सिमित भएका थिए ।
त्यो बेलाको प्रदेश सभा चुनावमा वाम गठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र (१) बाट एमालेका गेल्बुसिंह बोहरा र २ बाट माओेवादीका मानबहादुर धामीले बाजी मारेका थिए ।
०५६ पछि जित हासिल गर्न नसकेको कांग्रेस पुरानो विरासत फर्काउन आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्मर कसेर लागि परेको छ । नेकपा एमाले भने आफ्नो किल्ला यथावत राखेर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदान उत्रिएको छ।
जिल्लामा ९ वटा स्थानीय तह रहेका छन्। अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणामअनुसार एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिका गरी ५ पालिकाको प्रमुखमा जितेको छ।
अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिका गरी ४ वटामा माओवादी केन्द्रले जित निकालेको छ। काँग्रेसले कुनै पनि पालिका प्रमुख पद जित्न सकेको थिएन। त्यो बेला पनि माओवादी कांग्रेसबीच गठबन्धन गरिएको थियो। एमाले एक्लै भिडेको थियो।
जिल्लाका कूल ६१ वडामध्ये ३४ वडामा एमालेले जितेको छ भने गठबन्धन काँग्रेस र माओवादी केन्द्रले कूल २७ वडा जितेको छ। स्थानीय तहको मतपरिणाम अनुसार जिल्लामा गठबन्धन भन्दा एमाले बलियो देखिएको छ।



