गोकुलेश्वर। दार्चुलाको एक विद्यालय कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १० नम्बरमा परेको छ ।
जिल्लाको लेकम गाउँपालिका —५ चौपातामा रहेको लटिनाथ नमूना माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनको आधारमा ६० जिल्लाका ४ हजार ८ सय ६७ विद्यालयहरु मध्ये उत्कृष्ट दशौं नम्बरमा परेको विद्यालयका प्रधानाध्यापक केशव बिष्टले बताए ।
शिक्षा मन्त्रालय अन्तर्गतको गुणस्तर प्रशिक्षण केन्द्रले देशभरिका विद्यालयहरुको विभिन्न मापदण्डका आधारमा गरेको परिक्षणमा उत्कृष्ट १० नम्बरमा परेको हो ।

करिब ११ सयबढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा सुदूरपश्चिमका सबै जिल्ला र अन्य थुप्रै जिल्लाबाट विधार्थी पढ्न आउने गरेका छन् ।
सो विद्यालयमा डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स),डिप्लोमा इन एग्रिकल्चर (भेटेरिनरी साइन्स),डिप्लोमा इन फोरेष्ट्रि,प्रि–डिप्लोमा इन प्लान्ट साइन्स,प्रि–डिप्लोमा इन भेटेरीनरी साइन्स र प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई हुने गरेको छ ।
विद्यालयमा छात्रबासको समेत उचित व्यवस्था छ । सम्पूर्ण पूर्वाधारहरुले सम्पन्न छ । दक्ष विशेषज्ञहरुबाट प्रशिक्षण गराइन्छ । संचारका सम्पूर्ण सुविधाहरु रहनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण तथा परामर्श सेवाको समेत व्यवस्था रहेको छ ।
वनपाखा, खोल्साखोल्सी र पाहाडी शृङ्खलाको काखमा भएको हुँदा प्राकृतिक मनोरम दृश्यसँगै खानपिनका लागि दूध र हरियो सागसब्जी ताजा पाइन्छ । राम्रो ग्रामीण परिवेश, आत्मीयता, आहारविहार तथा व्यवहारका कारण टाढाबाट पढ्न आएका छात्रछात्राले आफ्नै पनको महसुस गर्न पाएका प्राचार्य केशव बिष्टले बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त उक्त विद्यालयमा मधेशी, दलित, आदिवासी र महिलाका लागि आरक्षण छ । यस अवसरले सबै वर्ग र तप्काका छात्रछात्राको प्रवेश सहज भएको प्राचार्य बिष्टले बताए । प्राविधिक र व्यावसायिक विषयमा छोरीहरुको आकर्षण बढ्नुले आर्जनमा लैङ्गिक समानताको अवसर बढाउन सहयोग पुग्ने प्राचार्य बिष्टको विश्वास छ ।
‘मुलुककै एक गतिलो शैक्षिक गन्तव्य एवं प्राविधिक शिक्षाको केन्द्रमध्येको एक बन्नसकेको र अब यो ठाउँले मुलुकको मुहार फेर्ने जनशक्ति तयार गर्दैछ,भन्ने कुराले आफूहरुमा खुशीको सञ्चार गराएको लेकमका बासिन्दाहरु बताउँछन् ।’
