गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिकामा प्रहरीले डेढ लाख बराबरको अवैध मदिरा बरामद गरेको छ । लेकम गाउँपालिका—६ स्थित सिरोडाबाट प्रहरीले करिब १ लाख ५० हजार बराबरको मदिरा बरामद गरेको हो ।
सिरोडा गाउँमा खर फागलामा लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा शुक्रबार रिठाचौपाता प्रहरीले बरामद गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लोकेन्द्र पुजाराको कमाण्डमा खटिएको टोलीले सात सय १२ बोतल विभिन्न प्रकारको मदिरा बरामद गरेको हो ।

सिरोडाका स्थानीय ३ जना व्यापारीले अवैध रुपमा खर फागलामा लुकाइछिपाइ राखेको मदिरा बरामद गरेको वरिष्ठ सई पुजाराले बताए । उनले भने,‘हाम्रो स्टिङ अपरेशनले गर्दा उक्त मदिरा बरामद गर्न सफल भएका हौ,बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय दार्चुला पठाउँछौ ।’
अवैध रुपमा मदिरा बेचबिखन गर्ने तीनै जनालाई लेकम गाउँपालिकाको नियम अनुसार जरिवाना गरिएको उनले बताए ।
लेकम गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिएको छ । मदिरा निषेधित पालिका घोषणा गरेको भएपनी जिल्लाको गोकुलेश्वर लगायतका अन्य बजारबाट यातायातका साधनहरुमा लेकमका व्यापारीहरुले लुकिछिपि मदिरा ओसारपोसार गरि बेचिरहेका थिए ।
लेकमको ६ वटै वडाहरुमा अवैध रुपमा मदिरा बेचबिखन भइरहेको लेकमका एक स्थानीयले जानकारी दिए ।
