गोकुलेश्वर।बैतडीसँग सीमा जोडिएको जिल्लाकोे दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा खानेपानीको समस्या रहेको छ ।
जिल्लाको प्रमुख र एक मात्र प्रवेशद्धार भएकोे शैल्यशिखर—९ गोकुलेश्वर बजारमा बढ्दो शहरीकरण अनुसार विशेषज्ञ डाक्टरसहितको गोकुलेश्वर अस्पताल, निर्माणाधीन गोकुलेश्वर एयरपोर्ट, दर्जन बढी बैंक तथा वित्तीय संस्था,क्याम्पस,इन्जिनियरीङ कलेज,निजी तथा सरकारी विद्यालय,दर्जन बढी सरकारी कार्यालय छन् ।
यहाँ दिनहु साना ठूला सयौंको संख्यामा सवारी साधन चल्छन्,सयौं मानिस विभिन्न ठाउँहरुबाट व्यापार व्यवसाय तथा किनमेल गर्न आउँछन,आवतजावत गर्नेको पनि बाक्लो भिड हुन्छ,तर पानीको प्यास लाग्दा पानी पिउँन धारा समेत नहुँदा समस्या विकराल बन्दै गएको छ ।
यहाँ सुविधा सम्पन्न ठुला,साना होटलगरी अढाइ सय बढी पसल छन् । बजारको करिब ५० मिटर तलपट्टी बाह्रै महिना चमेलिया नदी बगिरहेको भएपनि बजारमा खानेपानीको समस्या कायमै छ । खानेपानी व्यवस्था गर्न सरकारी निकाय लगायत अन्य कुनैले चासो देखाएका छैनन् ।

बजारमा खानेपानी नुहँदा गाउँघरबाट घरायसी समान किनमेल गर्न आएकाले तिर्खा लाग्दा बोतलको पानी किन्न बाध्य भइरहेका एक व्यापारीले बताए । उनले भने,‘बस,जीप लगायत अन्य सवारी साधनमा यहाँ पुगेकाले बोतलको पानी किनेकै छन्,गाउँघरबाट आएका सर्वसाधारण मध्ये कोहीले होटेलहरुबाट मागेर त कोही किनेरै पिउँछन्,बजारमा पानीको व्यवस्था नहँदा यस्तो हुने गरेको हो ।’
गोकुलेश्वरमा होटल तथा अन्य व्यवसाय गर्दै आएका व्यापारीहरूले आफ्नै लगानीमा करिब ३,४ किलोमिटर टाढाबाट पानी ल्याएर व्यवसाय संञ्चालन गरिरहेका छन् ।
४ किलोमिटर टाढाबाट पानी ल्याएर व्यसाय गरिरहेको स्थानीय व्यापारी मनोज साँदले बताए । उनले भने,‘आफ्नै लगानीमा ४ किलोमेटर टाढा सिन्याडी खोलाबाट पाइप जोडेर पानी ल्याइ होटल,ग्यारेज र सार्वजनिक सौचालय सञ्चालन गरिरहेको छु, किनमेल गर्न बजार आएका सर्वसाधारणलाई तिर्खा लागेको बेला पानी उपलब्ध गाउँदै आएको छु, तर सरकारी निकायले व्यवस्थापनमा चाँसो देखाएको छैन् ।’
यसैगरी अढाई किलोमिटर टाढा घरबाटै निजी लगानीमा पानी ल्याएर व्यवसाय चलाइरहेको अर्का व्यापारी शंकरसिंह साउँदले बताए । निजी लगानीमा पानी ल्याउन नसक्ने साना व्यापारीहरुले चमेलिया नदीकै पानी प्रयोग गरिरहेका छन् ।
जिल्लामा सञ्चालन हुने खानेपानीका योजनामध्ये शैल्यशिखरमा ४० प्रतिशत र ती मध्ये शैल्यशिखर—९ मा करिब १० प्रतिशत बढी योजनाहरु सञ्चालन हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दार्चुलका प्रमुख प्रकाश कार्कीले बताए । उनले भने,‘गोकुलेश्वर बजारमा खानेपानी समस्या समाधान गर्नको लागि आगरी गाड र खोल्सी खोलाबाट मुहान बनाइ पानी ल्याउन विगतमा पनि थुप्रै योजनाहरु सञ्चालन भएको भएपनि उपभोक्ता समितिले बिचमै काम छोडी बजेट सकिएको आरोप लगाउँदै टार्न खोजेको हो ।’
खानेपानीको व्यवस्थापन गर्न शैल्यशिखरका जनप्रतिनिधि र अन्य सरोकारवाल निकायहरुसंग छलफल गरि चाँडै गोकुलेश्वर बजारमा खानेपानीको व्यवस्था गर्ने कार्कीले बताए ।
