गोकुलेश्वर। डेङ्गीको सङ्क्रमण ७० जिल्लामा फैलिएको छ । हालसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण बढी फैलिएको छ । सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् ।

गत वर्ष ५८ जिल्लामा डेङ्गी फैलिएको थियो भने त्यतिबेला डेङ्गीबाट पाँच सयको हाराहारीमा बिरामी परेका सरकारी तथ्याङ्क छ ।
डेङ्गी सङ्क्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो जातको लामखुट्टेले प्राय उज्यालोमा टोक्ने गर्छ भने सफा पानीमा फुल पार्छ ।
ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् ।
यस्ता लक्षण देखिनासाथ उपचारमा नगए गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले बेलैमा अस्पताल जान डाक्टरको सुझाव छ ।
