धनगढी । सुदूरपश्चिम प्रदेशभित्र पुरानो सडक संरचनाले धान्नै नसक्ने गरी सवारीसाधनको चाप बढेको छ। प्रदेशभित्र सवारी चाप १७ प्रतिशले बढेको हो। प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुरमा सवारीसाधनको चाप सबैभन्दा उच्च देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदमा फाइनान्सको सुविधा दिएपछि सवारीसाधनसँगै सवारी चालको संख्यासमेत बढ्दै गएको हो । सबैभन्दा बढि कैलाली र त्यसपछि कञ्चनपुरमा सवारीको चाप बढेको छ । पहाडी जिल्लाका ग्रामीण बस्तीसम्म सडक विस्तारसँगै सवारीसाधनको संख्यामा समेत वृद्धि हुँदै गएको देखिएको छ ।
तर, प्रदेशको सडक संरचनाले धान्नै नसक्ने गरी सवारीसाधनमा भएको वृद्धिले दुर्घटना बढ्दै गएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । उनले भने, ‘सडक संरचना पुरानै छ। तर, सवारीको चाप वर्षेनि बढ्दै गएका कारण दुर्घटना हुनेक्रम समेत बढेको छ,’ उनले थपे, ‘यसअघि सडकमा ट्राफिक चिन्ह राख्ने गरेको भएपनि पछिल्लो समय यस विषयप्रति पनि बेवास्ता गरिएको छ ।’ सडक क्षमताले धान्नै नसक्ने गरी ठुलो तथा साना सवारीसाधनको संख्यामा अत्याधिक रुपमा वृद्धि भएको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशभित्र आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आर्थिक वर्ष २०७८÷७९ मा सवारीसाधनको संख्यामा १७ प्रतिशतले वृद्धि भएको छ । सो अवधिसम्म एक लाख ६० हजार ७ सय सवारीसाधन प्रदेशभित्र सञ्चालनमा रहेको देखिएको छ । प्रदेशभित्र सवै प्रकृतिका सवारीसाधनको संख्यामा वर्षेनि उल्लेख्य रुपमा वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ । अबको ५ वर्षपछि आवश्यक पर्ने सवारीसाधन अहिले नै बढेपछि दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ । दिनेश खबरबाट



