
गोकुलेश्वर । जिल्लाका ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाइने भएको छ । दिनानुदिन फेरी कोरोना संक्रमण बढीरहेको अवस्थामा स्वास्थ्य कार्यालय दार्चुलाले उनिहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउने तयारी गरिरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिनुभयो । तयारी स्वरुप आज देखी भदौ १ गते सम्म जिल्ला भरीका स्वास्थ्यकर्मीहरुलाई फाइजर खोप अभियानका बारेमा अभिमुखीकरण गराइरहेको उहाले बताउनुभयो । स्वास्थ्यकर्मीहरुलाई ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकालाई दिइने कोरोना विरुद्धको फाइजर खोपका बारेमा जानकारी दिने तथा अभिमुखीकरण गराउने कार्य भइरहेको बताइएको छ । ‘भदौको ५ गते देखी ११ गते सम्म बालबालिकाहरुलाई कोरोना विरुद्धको उक्त खोप लगाउने गरि तयारी गरिरहेका छौ, उहाले भन्नुभयो ।’
जिल्ला भरी रहेका ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकाहरुको तथ्याङ्कका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयमा खोपको माग गरिएको खोप सुपरभाइजर भट्टले बताउनुभयो । दार्चुलामा ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकाको संख्या १८ हजार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबिच जिल्लामा कोरोना संक्रमण बढ्दै गइरहेको पाइएको छ । खास गरि भारतबाट नेपाल आउने नेपाली कामदारहरुमा कोरोना संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । भारतमा मजदुरी गरि घर फर्किरहेका उनिहरुमा चेकजाँच गर्दा कोरोना संक्रमण भेट्टीरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
