गोकुलेश्वर । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणदर बढ्न थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

अहिले दैनिक जसो कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । जिल्लामा भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षणदरमा बृद्धि गरिएको पुलघाटका स्वास्थ्यकर्मी रविन्द्र सिह ठगुन्नाले बताए । भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना संक्रमणदर बढ्दै गएपछि जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । हाल सम्म जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं २ भगवती स्वास्थ्य चौकीमा कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाल्र जनाएको छ । भगवती स्वास्थ्य चौकीमा केहीदिन पहिले ६३ वर्षका एक जना पुरुष तथा ४३ वर्षकि एक जना महिलागरी २ जनामा कोरोना संक्रमण देखिएको हो ।
ज्वरो र रुघाखोकि लागेर परीक्षण गर्न भगवती स्वास्थ्य चौकीमा पुगेका दुबै जनामा कोरोना देखिएको बताइएको छ । उनीहरुको स्वास्थ अवस्था अहिले सामान्य रहेको बताइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना विरुद्धको खोप नलगाएको भए खोप लगाउन समेत आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
