बैतडी । कोरोना भाइरस संक्रमण फेरी फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि बैतडीमा पूर्वतयारी गर्ने निर्णय भएको छ । आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहर फैलिएकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । कोरोना विरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्ने निर्णय समेत भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
यस्तै भारतबाट झुलाघाट नाका भइ स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमा ती नागरिकलाई सम्बन्धित स्थानीय तहमा पुर्याउन सामूहिक कोष स्थापना गर्ने निर्णय भएको छ । सो कोषमा प्रत्येक स्थानीय तहबाट तत्काल ५० हजारका दरले रकम जमा गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको छ ।

यस्तै प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माणको काम अघि बढाउने र दशरथचन्द नगरपालिका क्षेत्रभित्र जिल्लास्तरीय होल्डिङसेन्टर निर्माण गर्ने निर्णय पनि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लास्तरीय होल्डिङ सेन्टर निर्माणका लागि ठाउँ पहिचान गरी निर्माणको जिम्मा दशरथचन्द नगरपालिकाले लिने निर्णय भएको छ ।
यस्तै दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले संकलन गरेको विपद् प्रभावितहरुको तथ्यांकलाई स्वीकृत गर्दै पुननिर्माण र पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्ने निर्णय भएको छ ।
यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसंग समन्वय गरेर अघि बढ्ने समेत निर्णय भएको छ ।
जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेश गर्ने र राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुुसार स्तरोन्नती गरेर सञ्चालन गर्ने निर्णय भएको छ । सगुन खबरबाट
