नौगाडका बेपत्ता शिक्षक ठगुन्ना अझै फेला परेनन्
तीन कोणबाट अनुसन्धान गर्दै प्रहरी
दार्चुला। गत असार २७ गते देखी बेपत्ता रहेका नौगाड गाउँपालिका—१ का शिक्षक हरकसिंह ठगुन्ना अझै सम्पर्कमा आएका छैनन् ।
नौगाडकै भूमिराज माविका सहायक प्रधानाध्यापक समेत रहेका शिक्षक गत असार २७ गते सोमबार साँझ छिमेकी गाउँ सल्लास्थित एक घरमा विहेमा भोज खान गएका थिए । घर फर्किने क्रममा उनी बेपत्ता भएको भन्दै असार २८ गते खोजीका लागि प्रहरीमा निवेदन दिएको बेपत्ता शिक्षकका भाइ बिक्रम ठगुन्नाले बताए ।
प्रहरीले घटनाको गम्भीरताका साथ खोजीका लागि त्यस ठाउँमा ठुलो संख्यामा सुरक्षार्की परिचालन गरेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही आफै घटनाको अनुसन्धानमा खटिएका थिए । प्रहरी र स्थानीयले सम्भावित सबै ठाउँमा खोजी गर्दा समेत उनको अवस्था अज्ञात नै रहयो ।
प्रहरीले बेपत्ता भएको दोस्रो दिन नौगाड—१ बगड खोलाको बगरमा शिक्षक ठगुन्नाको कोट,पावर बैंक,इयरफेन फेला पारेको थियो भने तेस्रो दिन उनले लगाएको टोपीे,कच्याकुचुक पारेको छाता मकैबारीमा माटोमुनि लुकाएर राखेको अवस्थामा फेला पार्नुका साथै नजिकै ओढारमा जुत्ता र मोजा फेला पार्नु बाहेक अन्य कुनै कुरा बरामद गर्न सकेन् ।
बेपत्ता शिक्षक ठगुन्ना बगडखोला जन्तिघर देखि करिब डेड घण्टा सम्म गएको खुल्नमा आएको छ । सोही घटनामा गाउँकै एक जना महिला र उनको छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार ती महिलासँग शिक्षक ठगुन्नाको राम्रो सम्बन्ध रहेको र उनको घरमा आउजाउ गरिरहने बताएका छन् ।
‘सम्भावित सबै ठाउँहरुमा लगातार पाँच दिनसम्म खोजी गर्यों,उनीसँग नजिक रहेकी ती महिला, महिलाको छोरा र संकास्पद भनिएका मानिसहरुको बयान लिइरहेका छौं,’जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले भने, ’अब घटनालाई तीन कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
शिक्षक ठगुन्नाले नदीमा हाम फालेर आत्महत्या गरेको,उनको हत्यापछि शव गायब गरिएको र स्थानीयको डरले उनी कतै लुकेको हुनसक्ने जस्ता कोणबाट अनुसन्धान गरिरहेको डीएसपी बिष्टले बताए ।
घटना भएको १५,१६ दिन बितिसक्दा समेत आफुहरुले न्याय नपाएको बेपत्ता शिक्षक ठगुन्नाका भाइ बिक्रम ठगुन्नाले बताए । उनले भने, ‘अब दाइलाई जिउँदो देख्न पाईने आस त विलायो,दाइको लास मात्रै पाएको भए पनि मनमा शान्ति पाउने थियो ।’
घटनाबारे थुप्रै प्रमाणहरु फेला पर्दा समेत घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसकेकाले आफुहरुले न्याय पाउने आसा समेत मर्न थालेको उनको टिप्पणी छ ।



