No.1 News Portal from Sudurpashchim Province
bajaj

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले नयाँ कोणबाट अनुसन्धान गर्दै

धनगढी । २०७५ साउन १० गते निर्मला पन्त आफ्नो साथीको घरमा गइन्। कञ्चनपुरीको भीमदत्त नगरपालिका उल्टाखामकी पन्त साँझसम्म घर नफर्किएपछि खोजी कार्य सुरु भयो। उनको परिवारले सोही समयमा प्रहरीलाई पनि खबर गरेको बताउँदै आएको छ। तर, त्यो बेला प्रहरीले पनि खासै चासो दिएन। ११ गते विहान घर नजिकैको उखुबारीमा १३ वर्षीया पन्त शव फेला प¥यो।

बलात्कारपछि हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो। शव फेला परेसँगै दोषी पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शनसमेत गरेका थिए। राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते मात्रै उनको शव आफन्तले बुझेका थिए। तर, यो घटना भएको ४ वर्ष पुरा भएपनि दोषी पत्ता लागेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामप्रसाद चौधरीले उक्त प्रकरणमा नयाँ रणनीतिबाट अनुसन्धान भइरहेको बताएका छन। ‘हाम्रो अनुसन्धानको दायरामा आउनुपर्ने केही व्यक्तिहरु देशबाहिर पनि गएको देखिएको छ,’ उनले भने, ‘त्यसतर्फ पनि हाम्रो निगरानी बढेको छ।’

निर्मला पन्तको बलात्कारपछि हत्याको घटना पत्ता लगाउन अहिले पनि डिएनए परीक्षण भइरहेको छ। कञ्चनपुर प्रहरीका अनुसार अहिलेसम्म एक सय १० जनाको डिएनए परीक्षण गरिएको छ। जसमध्ये ३ जनाको रिपोर्ट आउन भने बाँकी छ।

pm office

घटनापछि ४ वर्षसम्म एकपछि अर्को गर्दै निरन्तर अनुसन्धान टोली कञ्चनपुरमा खटेका छन्। अहिलेसम्म ६३५ जनालाई सोधपुछ गरिएको प्रहरीको जनाएको छ। तर पनि, अहिलेसम्म भएको ढिलासुस्तीका कारण पीडित परिवार न्याय पाउने आशमा भने छैन।

केही अधिकारकर्मीहरुले भने सरकारले नै दोषीलाई गोजीमा लुकाएर राखेको आरोप लगाएका छन्। न्यायालयप्रति विश्वास भए पनि कानून कार्यान्वयन गर्नेको गोजीमा नै अपराधी लुकेको आरोप कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दको छ। ‘दोषी हराएको भए पो पत्ता लाग्छ। दोषीलाई त गोजीमा राखिएको छ। अहिलेको र तत्कालिन सरकारलाई दोषी को हो भन्ने कुरा राम्रोसँग थाहा छ। तर न्याय पाउने आश मरिसकेको छ,’ उनले भनिन्।

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिले पनि जिल्ला प्रहरी र सिआइबीको टोली कञ्चनपुरमा छ। बेला–बेला प्रदेश प्रहरीको टोलीले पनि अनुसन्धानमा सहयोग गर्ने गरेको छ।

अहिले कञ्चनपुर प्रहरीले उक्त घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। लागुऔषध प्रयोगकर्तालाई पनि यो घटनाको अनुसन्धान दायरामा ल्याएको प्रहरीले जनाएको छ। साथै मजदुरी गर्नेलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेको भनाई कञ्चनपुर प्रहरीको छ।

४ वर्षसम्म विभिन्न कोणबाट अनुसन्धान गरेपनि नतिजा भने दिन नसकेको कञ्चनपुर प्रहरी प्रमुख चौधरीले बताउँछन्। ‘अहिले अनुसन्धानको रणनीति परिर्वतन गरेका छौं। लागुऔषध प्रयोकर्ता र त्यस क्षेत्रमा काम गर्ने मजदुरपनि हाम्रो निगरानीमा छन्। नतिजा कहिले आउँछ भन्न सकिन्न। तर हाम्रो अनुसन्धान जारी छ,’ उनले भने।

निर्मलाको न्यायका लागि दर्जनौं पटक अन्दोलन नै भएको छ। प्रदर्शनकै क्रममा एक जनाले प्रहरीको गोलीबाट ज्यान नै गुमाउनु परेको थियो। अहिले पनि उक्त घटनाको न्यायको माग गर्दै सडकदेखि सदनसम्म आवाज उठिरहेको छ। दिनेशखबर

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.