गोकुलेश्वर । चीनको सीमा नजिकै पर्ने दार्चुलाको बिकट मानिने त्रिदेशीय सीमा क्षेत्र तिङ्करस्थित छायालेकमा नेपाल प्रहरीले सिमा सुरक्षामा सास्ती खेप्नुपरेको छ । नत बिजुली छ, नत मोबायलमा नेटवर्क नै ।

सुरक्षामा खटिएका प्रहरीका लागि रातिको समयमा उज्यालोका साधन नहुँदा अँध्यारोमा बस्न बाध्य भएका हुन् । राति लगभग ८ बजे नै सुत्छन् । उज्यालो बनाउन ब्यक्तिगत मोबाइल बाल्नुपर्छ, मोबाइल चार्ज गर्न पनि करिब एक घण्टाको बाटो हिडेर गाउँ पुग्नुपर्ने बाध्याता छ । तिङ्कर गाउँमा लघु जलविद्युत् छ तर छायालेकमा छैन । मोबायलमा चार्ज नभएरै, नेटवर्क नभएकै कारण आफन्तजन र जिल्लासँग करिब हप्ता दिनमा मात्रै मुस्किलले सम्पर्कमा हुन्छन् ।
ब्याँस गाउँपालिका उपाध्यक्ष बिनोद कुँवरको भनाई
“राज्यले सीमा क्षेत्रमा बस्ने प्रहरीका लागि न्यूनतम सुविधासमेत पुर्याएको रहेनछ । नेपाल–चीन सीमा स्तम्भसम्म जाने जो पनि त्यही छायालेक प्रहरीकोमा गएर बास बस्छन् तर अँध्यारोमा बसेका प्रहरीको समस्याबारे सबै बेखबरजस्तै भएको र त्यहाँको प्रहरीका लागि सोलारको व्यवस्था गर्न पहल गर्छु” ।



